Logo
Logo

मेलम्ची क्षेत्रमा विनाशः आखिर पहिरो कहाँ गयो ?


दृष्टि संवाददाता

3.9k
Shares

काठमाडौं । देशभरजस्तै सिन्धुपाल्चोक क्षेत्रमा पनि शुक्रबारदेखि सुरु भएको वर्षा सुरु भएको हो । मंगलबार पनि मेलम्चीबजारमा सिमसिम पानी परिहरेको थियो, तर माथि लाङटाङ क्षेत्रतर्फ भने ठूलै पानी परिरहेको थियो ।

मेलम्चीबाट इन्द्रावतीतर्फ करिब २२ किलोमिटर माथि रहेको वस्ती याङ्ग्रीमा बाढी आएपछि स्थानीय वासिन्दाको भागाभाग भयो । लार्के खोलाबाट आएको बाढीले याङ्ग्री वस्ती क्षतिग्रस्त बनायो । ज्यान बचाउन सफल त्यहाँका बासिन्दाले मेलम्चीतर्फ फोन गरेर इन्द्रावतीमा बाढी आएको जानकारी गराए ।

मंगलबार साँझ करिब पाँच बजेको थियो । लार्के–याङ्ग्री हुँदै इन्द्रावतीमा बाढी आउँदै छ भन्ने जानकारी पाएपछि मेलम्ची किनारका वासिन्दाहरू माथितर्फ सरे । नभन्दै ६ बजे बाढी आइपुग्यो । ठूलो बाढी देखेर स्थानीयहरू माथिमाथि सर्दैै गए ।

स्थानीयहरू उकालो लागिरहेका थिए । तर करिब सात बजेतिर मेलम्ची खोलामा पनि बाढी आयो । इन्द्रावतीमा मात्र बाढीको अपेक्षा गरेका सर्वसाधरण मेलम्चीमा पनि बाढी आएपछि झन् त्रसित भए । तर, इन्द्रावतीको डरले माथि सरिसकेकाले मेलम्ची बजारमा मानवीय क्षति हुन पाएन ।

इन्द्रावतीको पानी बजार पसेन । तर मेलम्चीको बाढीले भने बजारमा विध्वंश मच्चायो । बजारका ६० घर डुबे । बजारका मात्रै करिब तीन सय बासिन्दा विस्थापित भएका छन्  । राति भाग्न नपाएका दुई जना मजदुरलाई होटलबाट र एक जना सर्वसाधरणलाई निर्माणाधिन मनमोहन स्मृति भवनबाट सेनाको हेलिकोप्टरले उद्धार गरेको छ ।

करिब दुई दशकअघि मेलम्ची पल्लो भित्तातर्फ गएकोले वल्लो भित्ता बगर भएको थियो । त्यहाँ मेलम्ची नगरपालिकाले खेलकुदका लागि ‘कभर्ड हल’ बनाएको थियो । बाढीले पहिले कभर्ड हललाई पुरै बगाएर लग्यो र त्यहीँबाट बजारतर्फ पस्यो । कभर्ड हलको संरचना केहीबेर पक्की पुलको पोलमा अडियो । त्यसैले पानी झन् झन् माथि बढ्यो, बजार माथिसम्म डुब्यो । राति करिब दुई बजे मेलम्चीको पक्कि पुल पनि बग्यो ।

मेलम्ची बजारनजिकै क्रसरले रात दिन गिटी र बालुवा निकाल्दै आएका छन् । जग नै खनिएका पुलले बाढी थाम्न सकेन । बाढीको यो ताण्डव हेरेर मेलम्चीवासी सारा रात जागा थिए ।

बुधबार बिहानदेखि इन्द्रावतीको बाढी केही घटेको छ । तर, मेलम्चीको बाढी जस्ताको त्यस्तै छ । खासमा नदिमा पानीभन्दा धेरै लेदो र ढुंगा छ । २४ घन्टाभन्दा बढी समयदेखि लगातार लेदो र ढुंगा आउने गरी माथि के भत्किएको हो भन्ने अनुमान गर्न सकिएको छैन ।

मेलम्ची बजारभन्दा माथि अम्बाथानस्थित खानेपानीको ड्याम पुरै भत्किएको छ । खानेपानी आयोजनाको कुनै पनि संरचना अहिले देख्न सकिदैँन ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्