Logo
Logo

बाढीपीडित मेलम्चीवासीको स्कुलमा वास


दृष्टि संवाददाता

0
Shares


काठमाडौं । बाढीले सबैभन्दा बढी सिन्धुपाल्चोकमा क्षति पुर्‍याएको छ । मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोेकमा २० जना बेपत्ता छन् । मेलम्ची र हेलम्बु क्षेत्रका करिब एक हजार बासिन्दा बाढीले विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डिएसपी प्रकाश सापकोटाका अनुसार एकजनालाई नदीले बगाउँदै गरेको देखे पनि प्रहरीले समात्न सकेन । फेला परेका शव पनि सनाखत हुन सकेका छैनन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हेलम्बु गाउँपालिका– २ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६५ वर्षीय टीकामाया खड्का र ४५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नम्बर ६ का च्याङगा तामाङ, काली तामाङ, वडा नम्बर ३ की साइँली तामाङ, चौतारा साँगाचोकगढी नगरपालिकाका सुरेन्द्र नेपाल, त्रिपुरा सुन्दरी– १ का विमल खत्री, राम थापा, सुवास जिरेल, कमल खत्री, होमराज घिमिरे र रेसमलाल सार्की बेपत्ता छन् ।

त्यस्तै, भारतीय नागरिकहरू कमललोचन महतो, विजय वासुमन्तरी र जिनडाओ वासुमन्तरी तथा चिनियाँ नागरिकहरू सन यु चुवान, यु चि झु र गोङ टियान छियो पनि बेपत्ता छन् । उनीहरू मेलम्ची खानेपानी आयोजनामा काम गर्ने ठेकेदार कम्पनी सिनो हाइड्रोका कर्मचारी हुन् ।

मेलम्ची बजारबाट विस्थापित भएका पाँच सयमध्ये तीन सय स्थानीयलाई सेनाले आफ्नै क्याम्पमा राखेर खान–बस्नको व्यवस्था मिलाएको छ । दुई सयजनालाई मेलम्चीस्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयमा राखिएको छ । त्यस्तै, हेलम्बु क्षेत्रबाट विस्थापित करिब पाँच सयलाई स्थानीयको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीले खान–बस्नको व्यवस्था प्रबन्ध गरेको छ । जिल्ला प्रशासन कार्यालयले भने मेलम्चीमा ६ सय र हेलम्बुका करिब तीन सय बासिन्दा प्रभावित अनुमान गरेको छ ।

बाढीले पुल बगाउनुका साथै सडक कटान गरेकाले मेलम्ची–हेलम्बु सम्बन्धविच्छेद भएको छ । मंगलबार रातिबाटै विद्युत् आपूर्ति पनि अवरुद्ध भएकाले फोन सम्पर्क पनि हुन सकेको छैन । जसका कारण हेलम्बु क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको यकिन विवरण अझै आउन नसकेको प्रहरीले जनाएको छ ।

बाढीले तहसनहस गर्न थालेपछि मंगलबार साँझदेखि रातिसम्म नदी आसपासका बासिन्दा ज्यान जोगाउँदै उकालोतर्फ भागाभाग गरेका थिए । मुसलधारे पानी परिरहेकाले अन्धकार रातमा सुरक्षित स्थानतिर जान पनि उनीहरूलाई समस्या भएको थियो ।

हेलम्बु गाउँपालिका– २ गणेशेबगरमा पसल सञ्चालन गरेर बसेकी सुप्रभा गिरी राति ११ बजे दुइटा साना नानीलाई काखी च्यापेर उकालो लागिन् । सँगै उनका पति र वृद्ध सासू–ससुरा पनि थिए । ‘खोला धमिलो भए पनि बाढी र पहिरो सँगै आउँछ भन्ने अनुमान हामीले गरेका थिएनौँ,’ उनले भनिन्, ‘तर, जब साँझ छिप्पिँदै गयो, खोला पनि ठूलो गर्जनसहित बग्न थाल्यो । अनि भागाभाग भयो ।’

गिरी साँझ अबेरसम्म पसलमै थिइन् । पहिरो गएको भनिएको मेलम्चीघ्याङका स्थानीयले फोन गरेर उनलाई ‘बाढी ठूलो छ सुरक्षित रहनू’ भनेपछि परिवारसहित उकालोतर्फ लागेको उनले बताइन् । हेलम्बु, चनौटे र ग्याल्थुम क्षेत्रका स्थानीयमा भागदौड चलेको थियो ।

एक्कासि बाढी आएकाले स्थानीयले घरमा भएको अन्नपात र सरसामानसमेत निकाल्न पाएनन् । उनीहरूले झरीमा रुझ्दै भोकैभाकै रात बिताए । हेलम्बुका बस्ती बगाएर ल्याएको बाढीले राति २ बजे मेलम्ची र बाहुनेपाटीको पुल पनि बगायो ।

बाढीले मेलम्चीको पुरानो बजार, पुल बजार, आमा ह्योल्मो यातायातको बसपार्क क्षेत्रमा रहेका करिब ५० घर बगाएको छ । स्थानीय बासिन्दा शालिग्राम दुलालका अनुसार माथिल्लो क्षेत्रका बासिन्दाले ‘ठूलो बाढी आएकाले सुरक्षित रहनू’ भन्ने खबर गरेका कारण पनि मानवीय क्षति धेरै हुनबाट जोगिएको छ । ‘समयमै खबर पाएकाले मेलम्चीका बासिन्दा सुरक्षित स्थानतर्फ भाग्न पाए । मंगलबार साँझ करिब ६ बजेतिर फोन आएलगत्तै मान्छेहरूको भागाभाग भयो,’ उनले भने, ‘कति वेला कुनस्तरको बाढी आउने हो भन्ने अनुमान गर्न नसकेका स्थानीय बासिन्दा खाली हात भागे ।’, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्