काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले २० जना कार्यकारिणी समिति सदस्य थपेर निर्वाचन आयोगलाई बुझाएको छ । कार्यकारिणी समितिमा अल्पमतमा परेपछि अध्यक्ष ठाकुरले आफ्ना पक्षबाट २० जना सदस्य थपेका हुन् ।
अध्यक्ष ठाकुर पक्षले ३० जेठमा आफूपक्षीय बैठक राखेर २० जनाको नाम थपेका थिए । थपिएका नाम दर्ता किताबमा अध्यावधिकका लागि १ असारमा आयोगमा दर्ता गराएको थियो । नाम दर्ता गराउन केशव झा निर्वाचन आयोग पुगेका थिए । तर, आयोगले एकजना अध्यक्षले मात्र कसैलाई हटाउन वा कसैलाई राख्न नमिल्ने बताएपछि पुनः २० जनाको नाम थपेर आयोगमा अध्यावधिकका लागि पठाएका हुन् ।
थप गरिएका २० जनामध्ये सबैजना महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका रहेको छन् । त्यसमा शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिलकुमार झाका पक्षका नेतालाई राखिएको छैन ।
कार्यकारिणी समितिमा बाबुलाल साह, विजय गुप्ता, अर्जुन उप्रेती, अरविन्द साह, जयप्रकाश ठाकुर, उपेन्द्र महतो, मुकेश झा, शतरजित यादव, एकवाल मियाँ, रमेश पटेल, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, सन्तोष मेहता, डा.विजय सिंह, कृष्ण सिंह, परमेश्वर साह, अभिराम शर्मा, राजिव झा, सुरेश मण्डल र डा.सुरेन्द्र झा थपिएका छन् ।