Logo
Logo

स्याउ तस्करीमा उच्च अधिकारीकै नाम मुछिएपछि…


दृष्टि संवाददाता

185.2k
Shares

काठमाडौं । प्रहरीकै मिलेमतोमा चीनबाट ल्याइएका स्याउ भारत तस्करी गरिएको आशंका भएको छ । प्रहरी स्रोतका अनुसार स्याउ तस्करीमा प्रहरीका उच्च तहका अधिकारीदेखि जुनियर प्रहरी अधिृकतसम्मको नाम घटनामा मुछिएको छ ।

यसविषयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले अलगअलग रूपमा छानबिन थालेका छन् । भारतीय प्रहरीले निषेधाज्ञाकै बेला नेपालबाट भारत तस्करी भएका तीन ट्रक चाइनिज स्याउ बिहारको वीरपुरमा पक्राउ गरेको थियो । सुनसरीको नाकाबाट स्याउ भारत पुगेपछि तस्करीमा प्रहरी संलग्नता रहेको आशंका गरिएको हो ।

सुनसरीको लौकही नाकाबाट रातारात तीन वटा नेपाली ट्रकमा स्याउ भारत पुगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुटाछुट्टै समिति बनाएर छानबिन सुरू गरेका छन् । दुबै प्रहरी संगठनले एसएसपीको नेतृत्वमा छुटाछुट्टै समिति गठन गरेर अनुसन्धान सुरू गरेको छ ।

प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले एसएसपीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीले पनि एसएसपी नेतृत्वमा तीन सदस्यीय समिति बनाएर छानबिन सुरू गरेको हो ।

प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार छानबिनका लागि संघीय प्रहरी इकाई कार्यालय धरानका एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको हो । छानबिन समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी डिएसपी लक्ष्मी भण्डारी, इन्स्पेक्टर मोहन रायमाझी र अन्य तीन जना प्रहरी रहेको उनको भनाई छ ।

यस्तै डिआइजी वंशीराज दाहालका अनुसार सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका एसएसपी प्रकाश थापा र डिएसपी नविन बोगटीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ ।

चीनबाट आयात गरिएको स्याउ अवैध रूपमा सीमा कटाएर भारतको वीरपुर पुर्‍याएपछि भारतीय प्रहरीको नियन्त्रणमा परेको थियो । स्याउ बोकेर गएका तीन वटा नेपाली ट्रकसहित आठ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको हो । एक हजार ३५० कार्टुन स्याउ तस्करी प्रकरणमा सुनसरी जिल्लाका उच्च प्रहरी अधिकारीको समेत संलग्नता आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्