Logo
Logo
दृष्टिका १० हेडलाइन्स् :

गिट्टीबालुवा निकासी नगर्न सर्वोच्चको आदेशदेखि निर्वाचन आयोगमा उपेन्द्र यादवको दावी पेशसम्म


दृष्टि संवाददाता

630
Shares

हेडलाइन्स् :

१. २४ घण्टामा पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ७६८ जनामा जनामा कोरोना संक्रमण पुष्टि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको ७ हजार ५६९ पीसीआर परीक्षणमा १ हजार ९६३ जनामा र ५ हजार ४६८ एन्टिजेन परीक्षणमा ८०५ जनामा कोरोना संक्रमण कोरोना पुष्टि, २४ घण्टामा ४ हजार २० जना कोरोना संक्रमणमुक्त , थप ४४ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४१ पुग्यो ।

२. मनसुन सुरु भएसँगै अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार दिउँसोसम्म १६ जनाको मृत्यु, बाढीपहिरो र डुबानमा परी १६ जना घाइते, २५ जना बेपत्ता, बाढीपहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना र सल्यानबाट ८ जना गरी १ सय २ जनाको उद्दार, बाढीको कारण १ सय ९९ वटा घर डुबानमा, दुई हजार विस्थापित, विना स्वीकृति मेलम्ची बाढीका नाममा राहत संकलन गरे २ वर्षसम्म जेल र १ लाखसम्म जरिवाना गर्ने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको चेतावनी ।

३. सर्वोच्च अदालतद्वारा नेपालका विभिन्न जिल्लाबाट ढुंगा, गिट्टी लगायतका वस्तु निकासी गर्नका लागि सरकारले बजेटमार्फत ल्याएको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वमा रहेको न्यायाधीश दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठसहितको संवैधानिक इजलासले व्यवस्था कार्यान्वयन गर्न रोक, अध्यादेशबाट दीर्घकालीन महत्वका विषयमा अध्यादेशबाट कार्य गरिनु उपयुक्त नभएको समेत इजलासको ठहर ।

४. जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकता माग, निर्वाचन आयोगको पछिल्लो निर्णयले पार्टी संगठन सञ्चालनमा बाधा पुगेको भन्दै आधिकारिकता आफूलाई दिन माग, बारम्बार बैठकमा अनुपस्थित हुने, फरक सूचना जारी गरेर बैठक स्थगित गरेको निर्णय लेख्ने लगायतका काम ठाकुर पक्षबाट भएको र त्यसले पार्टीको आन्तरिक जीवन, राजनीतिक जीवन ठप्प पारेको यादव पक्षको आरोप ।

५. गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पाए विश्वासको मत, पोखरेलको पक्षमा ३१ मत परेको सभामुख नेत्रनाथ अधिकारीद्वारा जानकारी, विश्वासको मतको विपक्षमा २७ मत, मुख्यमन्त्रीलाई कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जनमोर्चा र जसपाका २÷२ तथा स्वतन्त्र सांसद दिपक मनाङेको साथ ।

६. नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलद्वारा नेकपा माओवादी नेतृत्वको सरकारमा सहभागी आफ्ना ३ सांसदलाई राजीनामा दिन निर्देशन, वैशाख ४ गते सांसदबाट पदमुक्त भएपछि सरकारमा सहभागी भएका उनीहरुलाई सर्वोच्च अदालतले अन्तरिम आदेशबाट पुनर्वहाली गरेपछि शुक्रबार संसदीय दलले सरकारमा फिर्ता हुन निर्देश, आदेशपछि उनीहरु वैधानिक रुपमा एमालेका सांसद भएकाले दलको निर्णयबिना सरकारमा सहभागी हुन नमिल्ने एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहको तर्क ।

७. विपद्को समयमा गरिने खोजी तथा उद्धार‚ विपद्पश्चात् गरिने राहत‚ पुनर्स्थापना र पुनर्निर्माणका कामको साथ साथै विपद् जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा समेत ध्यान दिन राष्ट्रपतिको सरकारसँग अनुरोध, गृहमन्त्रीसहित तीन सुरक्षा निकायका प्रमुखलाई बोलाएर राष्ट्रपति भण्डारीद्वारा मनसुनको शुरुवातसँगै बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धारमा संलग्न सुरक्षाकर्मीको सराहना, गृह मन्त्रालयलाई सम्बन्धित अन्य मन्त्रालय र निकायसँग समेत समन्वय गरी कार्य गर्न सुझाव ।

८. १२ कम्पनीको आठ करोड कित्ता आईपीओ पाइपलाइनमा, १० महिनाको वैदेशिक व्यापारमा सोयाबिन तेलले उकास्यो निर्यात, व्यापार घाटा भने उकालो लाग्दै, मेगा बैंक नेपालले स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने गरी कर्जा उपलब्ध गराउने ।

९. नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो, टिममा शरद भेषवाकर र पृथु बास्कोटा अटाउँदा बलर बसन्त रेग्मी, रोहित पौडेल अटाएनन्, १६ औं संस्करणको युरोकप फुटबलमा स्विडेनको पहिलो जित, स्लोभाकिया १ गोल अन्तरले पराजित, यूरो कप अन्तर्गत दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिक र तेस्रो खेलमा इंग्लायण्डले स्कटल्याण्डको सामना गर्दै ।

१०.र, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस दोस्रो कार्यकालका लागि नियुक्त, अफगानिस्तानमा तालिबान समूहले गरेको आक्रमणमा २५५ जनाको मृत्यु, विश्वमा एकैदिन ३ लाख ८५ हजार संक्रमित थपिए, ८ हजार ५ सय बढीको मृत्यु, नयाँ राष्ट्रपति चयनका लागि इरानमा मतदान, कोरोनाविरुद्धको खोप लगाउनेमा विश्वमै चीन सबैभन्दा अगाडी, अहिलेसम्म लगाइयो करिब एक अर्ब डोज ।

प्रतिक्रिया दिनुहोस्