काठमाडौँ । गम्भीर अपराध तथा गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने र उच्चस्तरीय गोपनीयता राख्ने स्विस बैंकमा नेपालीको मौज्दात रकम बढेको छ । स्विस नेसनल बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार स्विट्जरल्यान्डका बैंकमा सन् २०१९ को तुलनामा २०२० मा नेपालीको बचत दोब्बर भएको छ ।
नेपालीको बचत सन् २०१९ सम्ममा १७ करोड ५८ लाख ६५ हजार २ सय ४१ स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८ सय १० रुपैयाँ) थियो । सन् २०२० मा बचत ३६ करोड ८ लाख २२ हजार ५ सय ५१ स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड ३५ लाख ३१ हजार २ सय ५१ रुपैयाँ) पुगेको छ ।
यो बचत कसको र कति जना नेपालीको हो भन्नेबारे स्विस बैंकले सार्वजनिक गर्दैनन् । स्विस बैंकले बचतकर्तालाई उच्चस्तरको गोपनीयता कायम गरिदिन्छन् र कमस्तरको वित्तीय जोखिमको व्यवस्था गरेका छन् । गम्भीर प्रकारका अपराध, करछली, भ्रष्टाचार, मानव तथा हतियार बेचबिखनलगायत गैरकानुनी कार्यबाट आर्जित रकम राखिदिने गरेको आरोप स्विस बैंकमाथि छ ।
नेपालीको बचत सन् २०१७ पछि लगातार दुई वर्ष घटेको थियो । स्विस नेसनल बैंकले सार्वजनिक गरेको विवरणअनुसार सन् २०१७ सम्म नेपालीको बचत ४१ अर्ब ७३ करोड ९२ लाख २३ हजार २०५ रुपैयाँ (हालको विनिमय दर अनुसार) थियो । २०१८ मा ३२ अर्ब १६ करोड ५ लाख ८७ हजार ८ सय ४८ रुपैयाँमा झर्यो ।
२०१९ मा अझ घटेर २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८ सय १० रुपैयाँमा पुग्यो । २०२० मा भने दोब्बर भएको हो । यो रकम ब्याजसहितको हो ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।