आमा देवकी सापकोटा र बुबा लेखनाथ सापकोटाको सुपुत्री अञ्जु सापकोटा ‘अनु’को जन्म नुवाकोट सामरीमा भएको हो । अहिले उनी एक छोरा र एक छोरीकासाथ बर्दिया मधुवन–६, लाई आफ्नो कर्मथलो बनाएर नेपाली साहित्यमा रमाइरहेकी छिन् । नेपाली साहित्यको मुलतः मुक्तक विधामामात्र कलम चलाइरहेकी अञ्जुको मुक्तक सङ्ग्रह ‘अञ्जुली’को प्रकाशन भएकोमा मुक्तककार अञ्जुलाई सफलताको शुभकामना तथा बधाई !
नुवाकोट साहित्य प्रतिष्ठान, हाम्रो मझेरी साहित्य प्रतिष्ठान, पल्लब साहित्य प्रतिष्ठान, जनमत प्रकाशन बनेपा, अक्षरमार्ग पनौतीलगायत थुप्रै साहित्यिक संघसंस्थाहरुमा प्रत्यक्षरूपमा संलग्न रहेर साहित्यको फूलबारीमा रमाइरहेकी अनुको पहिलो प्रकाशित मुक्तक सङ्ग्रह ‘अधुरो सपना’ हो । र, ‘अञ्जुली’ मुक्तक सङ्ग्रह दोस्रो प्रकाशन भएको छ । विभिन्न साहित्यिक संस्थाहरुबाट पुरस्कृत तथा सम्मानित सापकोटा नेपाली साहित्यमा निकै सक्रिय छिन् ।
नेपालका राष्ट्रिय पत्रपत्रिकाहरुमा बाक्लै उपस्थिति रहेका छन् । म उनका सिर्जनाहरु मार्फतमात्र परिचित छु । हाम्रो समाजमा भएका सङ्त–विसङ्गतहरुलाई मुक्तकका माध्यमबाट प्रस्तुत गर्न खप्पिस सापकोटाको हात बिरामीहरुको सेवामा अहोरात्र खटिरहेका छन् । श्रीराम दाजु र रेडियोमा बज्ने बाल कार्यक्रम उनको साहित्य लेख्ने प्रेरणाको मूलस्रोत हुन् । यसरी नै नेपाली साहित्यको महासागरमा पौडिरहेकी अनु आफ्ना सिर्जनामार्फत आफ्नो पहिचान बनाइसकेकी एउटी सशक्त नारी स्रष्टा हुन् ।
मुक्तक भन्नाले कथासूत्रमा आबद्ध नभएको, हृदयका भावलाई प्रतिबिम्बित गर्ने प्रभावकारी निरपेक्ष स्वतन्त्र कविता भन्ने बुझिन्छ । वास्तवमै मुक्तक कविताकै एउटा अंश हो । कविताका बृहत, मध्यम, लघु र लघुतम यी चार रुपमध्ये सबै भन्दा कान्छो लघुतम रुप हो मुक्तक । पछिल्लो समयमा यस विधाले पाठकलाई निकै तानेको छ । मुक्तक विधाको विकास र प्रर्वद्धनको लागि विभिन्न प्रयासहरु पनि भैरहेका छन् ।
रामकाजी कोनेको नेतृत्वमा नेपाल मुक्तक प्रतिष्ठान (२०६९) स्थापना भएको छ । यसै प्रतिष्ठानमार्फत मुक्तक लेखन, वाचन तथा मुक्तक प्रधान पत्रिकाको पनि प्रकाशन शुरु हुनु खुशीको कुरा हो । यसका लागि कोने नेतृत्वको खुलेरै प्रसंसा गर्नु पर्छ नै । मान्छेले यस विधालाई मन पराउँनुको अर्थ व्यस्त मान्छेका दैनिकिहरुले गर्दा नै हो ।
र, लामा सिर्जनाहरु पढ्दा नभेटिएको खुशी चतुष्पदीय सिर्जनाले झन्कार दिने भएकोले मान्छेका छनोटमा पर्न सकेको हो जस्तो लाग्छ । यसै लाइनमा दौडिरहेकी अनुका मुक्तकहरु पनि चोटिला र झन्कारयुक्त भएको प्रमाण ‘अञ्जुली’ मुक्तक सङ्ग्रहमा सप्रमाण यहाँहरु समक्ष हाजिर छन् ।
यस्ता सर्जकहरुको खोजी गरेर उनीहरुलाई सम्मान तथा पुरस्कृत गर्ने र उनीहरुका सिर्जनालाई पुस्तकका रुपमा प्रकाशित गर्ने साहित्यिक संस्था नुवाकोट साहित्यि प्रतिष्ठानको योगदान स्रष्टाहरुले कहिले भुल्न सक्दैनन् । यस संस्थाका संस्थापक अध्यक्ष तथा साहित्यकार श्रीराम श्रेष्ठ लगायत वर्तमान पदाधिकारीहरु धन्यवादका पात्र बनेका छन् ।
मुक्तक, चतुष्पदीय (चार हरफको), आफैँमा स्वतन्त्र विधा हो । मुक्तकका पहिलो हरफले बिषयको उठान गर्छ, दोश्रो हरफले उठानलाई थप समर्थन गर्छ, समग्रमा, सुरुका दुई हरफले पृष्ठभूमि तयार पार्छ, तेस्रो हरफ स्वतन्त्र हुन्छ र यो हरफले चौथो हरफमा झट्का हान्न उपयुक्त वातावरण तयार पार्छ, चौथो हरफ वजनदार र झट्का दिने खालको हुन्छ ।
मुक्तक पढ्दा सररर, बहाबसंगै पढ्न सकिने हुनुपर्छ । अझ भन्नै पर्दा एउटा सुन्दर फूलजस्तै सानो आकारको तर सुवास निकै टाढासम्म फैलन सक्ने सार्मथ बोकेको चमकदार र आर्कषण भएको एउटा सुन्दर सिर्जना नै मुक्क्तकको स्वरुप हो । अनुको ‘अञ्जुली’ मुक्तक सङ्ग्रहमा यस्ता सुन्दर सुवास फैलाउँने दुईसय मुक्तक छन् ।
मुक्तक लेखनको अधिकतम नियमलाई पालना गरि लेखिएका यी मुक्तकहरु वर्तमान समयका दस्तावेजहरु पनि हुन् । हाम्रो समाजमा भएका संगत÷विसंगतहरुलाई मुक्तकका माध्यमबाट उठान भएका छन्, ‘अञ्जुली’ मुक्तक सङ्ग्रहमा । स्रष्टा पनि यहीँ समाजसँग पौठाजोरी खेलेर बाँच्न सिकेको कारणले उनले यहाँ भएका हरेक गतिविधिलाई नियाल्दै शब्द मार्फत पोख्ने गरेको पाइन्छ ।
यसले समाजका व्यक्तिहरुलाई सजग बनाउँन मद्दत पुग्छ । त्यसैले भन्ने गरेको हो– ‘जहाँ न पौँचे रवि त्यहाँ पौँचे कवि ।’ सर्जकले व्यक्त गर्ने माध्यममात्र फरक हो । अञ्जु सापकोटाले मुक्तक मार्फत समाजका हरेक गतिविधिलाई सुन्दर शैलीमा पोखेकी छिन् । र, अबको हाम्रो समाजमा यस्तो नहोस भन्ने सन्देश पनि प्रवाहित गरिरहेका छन् ।
मान्छेका स्वभाव अनेक हुन्छन्, जीवनमा मान्छेले धेरै परिर्वतन गर्न सक्छ, तर उसले आफ्नो स्वभावलाई कहिल्यै परिर्वतन गर्न सक्दैन । यसैबाट मान्छेको घमण्ड, अहम्को विजारोपन हुन्छ । त्यसको परिणाम आम मान्छेले अनाहकमा भोग्नु पर्दछ । त्यस्ता मान्छे र अहम् बारेमा ‘अञ्जुली’ भित्र पढ्न सकिन्छ । उनले यस्ता मान्छेका नियतिलाई मुक्तकमार्फत कटु प्रहार गरेका छन् ।
मान्छेका वैवाहिक जीवनमा बेमेल परिस्थितिबाट उब्जेका अनेकन विकृति यहाँ भेटिन्छन् । जनयुद्धमार्फत हजारौँ मान्छे मारेर सत्तामा पुगेकाहरुको पाइन हामीले देखेकै छौँ, त्यसलाई अझ सुन्दर शैलीमा अञ्जुलीमा पढ्न सकिन्छ । वैदेशिक रोजगारीले निम्ताएका विकृतिका कारुणिक चित्रण पनि मुक्तकमार्फत पोखेकी छिन् अनुले ।
कहीँ कतै निरासावादी मुक्तकहरु भेटिन्छन्, तिनलाई उनले जीवनको सत्यसँग साक्षात्कार गराए पनि आफ्नै भाग्यको खेलमा दाजेकी छिन् । यसले के स्पष्ट हुन्छ भने निरासामा पनि आशाका दिपहरु बलिरहेको आभाष ‘अञ्जली’ मुक्तकसङ्ग्रहले दिएको छ ।
उनका मुक्तकको अर्को विशेषता हो, नेपाली राजनीतिले उब्जाएको बेमेल परिस्थितिलाई मुक्तकमार्फत आक्रोश पोख्नु । यो उनको मात्र आवाज होइन, तपाईं हामी सबैको आवाजलाई अञ्जुले मुक्तकमार्फत बोलेका हुन् । हिजो चप्पल पड्काउनेहरु आज करोडौँका गाडीमा सवार छन् । उनीहरु, अर्बौको महलमा रमाएको देख्दा जो कोही पनि छक्क छन्, तर बोल्न सकेका छैनन् ।
यसरी एउटा सर्जकले व्यक्त गरेका यस्ता आवाजहरुलाई हामीले अझै बुलन्दरूपमा उठाउनुपर्छ । अनि मात्र समाजबाट विकृति, विसंगति हट्दै जान्छ । र, कुकर्म गर्नेहरुको शिर निहुरिन्छ । वास्तवमा केही स्रष्टा आफ्नो रुचि र सौखका लागि लेखेको पाइन्छ तर छापामा आएपछि ति सार्वजनिक सरोकारका विषय बन्ने गर्छन्, अनि समाजमा जकडिरहेका भुइँ मान्छेका कथा बन्छन् ।
त्यसपछि समानताको कुरा उठ्छ, केहीले न्याय पाउँछन्, पाएका पनि छन् । यसरी एउटा सर्जक समाजको एउटा सचेत नागरिक बन्छ । र, समाजमै पुजिन्छ । अञ्जु सापकोटा पनि त्यहीँ मार्गमा लागेकी एउटी निर्भिक, सचेत नागरिक हुन् । उनलाई आफ्नो कर्तव्य के हो भन्ने स्पष्ट रुपमा थाह छ । र त, सिर्जनामार्फत व्यक्त गरिरहेकी छिन्, हाम्रै समाजका बेमेल परिवेशहरु ।
मुक्तककार स्वास्थकर्मी पनि भएकोले कोरोनाको यस्तो कहरमा पनि आफ्नो ज्यानै गए पनि कर्तव्यबाट च्यूत हुनुहुन्न भनेर सिर्जनासँगै काममा निरन्तरता दिएकी छिन् । यसले के स्पष्ट गर्छ भने– ‘जे जस्तो परिस्थिति भए पनि मान्छे आफ्नो कर्तव्यबाट च्यूत हुनुहुन्न ।’
अञ्जुली मिठो क्वाटी जस्तै विविध विषय, परिवेश र जीवनका विविध आयामलाई सुष्मरुपमा केलाएर सग्लो रुपमा प्रस्तुत भएका मुक्तकहरु रहेका छन् । मुक्तकमा प्रेमप्रणयका कुराहरु त हामीले धेरै पढेकै छौँ । मुक्तकमार्फत राष्ट्रिय चिन्तन, समानताको नारा, मानवीय संवेदनाका स्वरहरु बुलन्द रुपमा प्रस्तुत भएका अञ्जुका ‘अञ्जुली’ मुक्तक सङ्ग्रह वर्तमान समयको दस्तावेज नै हो भन्न सकिन्छ ।
मुक्तकमार्फत उनले नलेखेको विषय खोज्न कठिन छ, त्यो पनि मुक्तकको परिधिमा रहेर त्यसकारण उनका यी मुक्तकहरु पठनीय र मननीय छन् । मुक्तकमार्फत पनि देश, काल परिस्थितिका अनेक आवाजहरु बुलन्द रुपमा उठाउँन सकिने रहेछ भन्ने एउटा राम्रो उदाहरण बन्न सक्छ ‘अञ्जुली’ ।
अर्को कुरा अञ्जुली सङ्ग्रहका यी मुक्तकहरुले मुक्तकको क्षेत्रमा केही नयाँ नै हलचल ल्याउँन नसके पनि अञ्जुलाई यस सङ्ग्रहले मुक्तकको क्षेत्रमा उनको पहिचान सुरक्षित पक्कै गरिदिएको छ । उनको साहित्यिक यात्रा खहरे नभएर कञ्चन भएर बग्ने नदी बनोस् । जो बग्दै गर्दा पनि संसारका प्राणीहरुको तिर्खा मेट्दै संसारको यात्रामा निरन्तर बहिरहेको हुन्छ । यहीँ शुभकामना !