Logo
Logo
बाढीको वितण्डा

थुनिएको मर्स्याङ्दी आफैं बग्न थाल्यो, मनाङसँग सडक सम्पर्क विच्छेद


दृष्टि संवाददाता

504
Shares

काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिका ४ हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थालेपछि तत्कालको ठूलो जोखिम टरेको छ । प्रहरीका अनुसार शनिबार दिउँसो दुवैतिरबाट पहिरो जाँदा मर्स्याङ्दी नदी थुनिएर ताल बनेको थियो । कमजोर खालको माटोसहितको पहिरो खसेकाले केही समयमै पानीले आफैं बाटो बनाएर बग्न थालेपछि ठूलो क्षतिको सम्भावना टरेको हो ।

जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी सुवास खड्काका अनुसार करिब आधा घण्टापछि नै नदी बग्न थालेको हो । ‘अहिले पनि साना(ठूला पहिरो त गइरहेका छन् । तर नदी थुनिने सम्भावना भने अहिलेसम्म देखिएको छैन’, डिएसपी खड्काले भने ।

मर्स्याङ्दी नदी ताल बन्दा माथिल्लो मनाङ जाने बाटोमा पर्ने बेलिब्रिज जोखिममा परेको थियो । नदी खुलेपछि बाढीले तटीय क्षेत्रमा क्षति पुर्याउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले पूर्वसूचना जारी गरेर सचेत रहन आग्रह गरेको थियो ।

यस्तै, मनाङ सडक सम्पर्कबाट विच्छेद भएको छ । मुख्य सडक लम्जुङको बेसिशहर, चामे, थाङसार सडकखण्ड ७० प्रतिशत ‘कोल्याप्स’ भएपछि सडक सम्पर्क टुटेको डीएसपी खड्काले बताए । उनले भने, ‘सडक सम्पर्क टुटेकाले अब हवाई बाहेक अरु विकल्प छैन ।’ ग्रामीण सडकहरु पनि पहिरोले भत्किएको उनले बताए ।

‘यस वर्षको मनसुनको सुरुमै अत्यधिक वर्षा हुँदा मनाङमा व्यापक क्षति भएको छ, अहिलेसम्म क्षतिको मूल्यांकन नै गर्न नसएिको डीएसपी खड्को भनाई छ ।

प्रतिक्रिया दिनुहोस्