Logo
Logo

चीनले थुनिएको पानी तर्काएपछि तत्कालको जोखिम दोलखामा टर्‍यो


दृष्टि संवाददाता

2.3k
Shares

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले अब तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जनाएको छ ।

दोलखाका डिएसपी भेषराज रिजालका अनुसार तामाकोशीमा पानीको बहाव बढे पनि जोखिम नरहेको बताए । ‘हिजो, अस्तिको भन्दा थ्रेट कम भएको छ’, उनले भने ।

विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काका अनुसार चीनको टिंग्री काउन्टीको रोङछिया शहर र आसपासका क्षेत्रमा भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिएको जानकारी चिनियाँ पक्षले गराएको थियो । अहिले चिनियाँ पक्षले नै नदीको बहाव कन्ट्रोलमा रहेको जानकारी दिएकाले तत्कालको जोखिम टरेको हो ।

यस्तै दोलखाको बिगु गाउँपालिका १ लप्चीको सिमानामा थुनिएको नदीमा बाढी आउन सक्ने र यसले क्षति पुर्याउन सक्ने आशंका थियो । डीएसपी रिजालका अनुसार तामाकोशी ड्यामको अहिले चारवटा ढोका खोलिएको छ । डिएसपी रिजालका अनुसार तामाकोशीमा बिहान साढे ५ बजे गरिएको मापनमा जलसतह १९७९.८ रेकर्ड गरिएको र पानी डिस्चार्ज २६० घनमिटर प्रतिसेकेण्ड रहेको छ ।

‘तामाकोशीमा लेदोसहितको बाढी आएको छ, बहाव बढेसँगै डिस्चार्ज लेभल पनि बिस्तारै बढाउँदै गएका छौं,’ डीएसपी रिजालले भने, ‘सम्भावित जोखिमको सामना गर्न आवश्यक पूर्वतयारी गरेका छौं।’

शनिबार नै विपद व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर सम्भावित जोखिम विश्लेषण गरी दोलखाका जोखिम क्षेत्रका बासिन्दालाई राख्न सिंगटीमा तीनवटा टेन्ट बनाइएको थियो । जोखिम व्यवस्थापनको पूर्वतयारी स्वरुप माथिल्लो तामाकोशीको जलाशयको सतह नौ मिटर घटाइएको थियो भने बालुवा थिग्रार्ने पोखरी पुरै खाली गराइएको थियो ।

जिल्ला प्रशासन कार्यालयले गएराति ९ः५५ बजे जरुरी सूचना जारी गर्दै दोलखा र आसपासका जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्