Logo
Logo

सेनाको नेतृत्व हस्तान्तरणबाट अरुले के सिक्ने ?


दृष्टि संवाददाता

354.7k
Shares

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आगामी २७ भदौदेखि अवकाश पाउँदैछन् । त्यसको करिब तीन महिनाअघि गत २३ जेठमा कार्यकालको हजार दिन पुगको अवसरमा पत्रकार सम्मेलन आयोजना गरी सेनामा नेतृत्व हस्तान्तरण प्रक्रिया सुरु भइसकेको घोषणा गरे ।

हरेक क्षेत्रमा चरम बेथिति र राजनीतिक हस्तक्षेप हुने नेपाल जस्तो देशमा तीन महिनाअघि नै सेनामा नेतृत्व हस्तान्तरण प्रक्रियाको घोषणा आफैंमा एउटा उदारणीय कदम हो । यसले नेपाली सेनालाई थप बलियो बनाउने निश्चित छ । जुन कुरा देशका अन्य निकायले अनुशरण गर्न लायक छ । यस्तो उदाहरणीय कार्यले संगठनको मनोबल उच्च बनाउँछ ।

सेनामा आफू अनुकुल व्यक्तिलाई प्रधानसेनापति बनाउने गरी हस्तक्षेपको प्रयास पटक–पटक नभएको होइन । तर, सैनिक नेतृत्वले त्यसलाई असफल पार्दै आएका छन् । जसकारण सेनामा चेन अफ कमाण्ड बलियो हुँदै गएको छ र क्षमतावान व्यक्ति नै नेतृत्वमा पुग्ने गरेका छन् ।

सेनामा व्यापक सुधार ल्याएका प्रधानसेनापति थापाले नेतृत्व हस्तान्तरण प्रक्रियालाई थप उदाहरणीय बनाएका छन् । जसअनुसार प्रभुराम शर्माले उनीपछि सेनाको नेतृत्व सम्हाल्नेछन् । अहिले होइन दुई वर्षअघिदेखि नै उनलाई भावी प्रधानसेनापतिको रूपमा अघि बढाइएको थियो । तर, अन्य सुरक्षा निकायमा नेतृत्व चयनमा चरम राजनीतिक हस्तक्षेप हुने गरेको छ ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा संगठनको नेतृत्वमा को आउँछ भन्ने कुरा एकदिन अघिसम्म पनि थाहा हुँदैन । चरम राजनीतिक हस्तक्षेप र चलखेलका कारण ती निकायमा यस्तो अवस्था आएको हो । जसले इमान्दार पछि पर्ने मात्र होइन अस्वस्थ प्रतिस्पर्धा पनि मौलाउँदै गएको छ ।

चरम राजनीतिका कारण प्रहरी र सशस्त्र प्रहरीभित्र गुटबन्दी मौलाएको छ । विकृति, विसङ्गति सामान्य हुँदै गएको छ । यस्तो अवस्थामा सेनाभित्र भने सिष्टम बलियो हुँदै गएको छ । संगठनभित्र गुटबन्दी अन्त्यको अवस्थामा पुगेको छ । यो कुरा अन्य निकायले समेत सिक्न जरुरी छ ।

आफ्नो कार्यकाल सकिनु तीन महिना अगाडि पत्रकार सामु उभिँदै बडो गर्वका साथ प्रधानसेनापति थापाले आफ्नो कार्यकालमा भएका नीतिगत सुधार बुँदा–बुँदा केलाएर सुनाए । पत्रकारहरुद्वारा सोधिएको सिधा प्रश्नको सिधा उत्तर फर्काए ।

प्रधानसेनापति थापाले भनेका थिए– ‘संवैधानिक दायित्व पूरा गर्ने दीर्घकालीन सोचसहित निर्मित कमाण्ड मार्गनिर्देशनमा तीन वर्षीय कार्ययोजना तय गरिएको थियो । यस अवधिमा हरेक तहका कमाण्डरहरूको कृतसंकल्पित प्रतिबद्धता र सकलदर्जाको दृढ परिश्रमले उल्लेखनीय केही अपत्यारिला उपलब्धिहरू हासिल भएका छन् । यो नेपाली सेनाको सामूहिक उपलब्धि र सफलता हो ।

यी उपलब्धि मुलतः दुई कारणले सम्भव भएको हो – एक, नेपाली सेनाका आवश्यकतालाई केन्द्रमा राखिनु । दुई, फौज र लिडरले पुरातनवादी सोच र कार्यशैलीलाई चुनौती पेश गर्नु । यसरी निष्ठा, नैतिकता र सदाचारको बलियो जगमा टेकेर सामूहिक विवेकबाट हामीले सेनाको भविष्यका लागि स्पष्ट र सही बाटो निर्दिष्ट गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्