काठमाडौं । विपक्षी गठबन्धनले प्रतिनिधि सभा विघटनविरूद्ध सडक संघर्ष गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार भएको बैठकले सडक संघर्षमा जानुपर्ने निष्कर्ष निकालेको हो ।
कोरोना संक्रमण कम भइरहेको र बाढीपहिरो पनि रोकिएको अवस्था रहेकोले अब सडक संघर्षमा जाने विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरूङले बताए ।
संघर्षका कार्यक्रम बनाउनका लागि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, नेकपा एमालेका नेता भीम रावल, नेकपा माओवादी केन्द्रका नेता देव गुरूङ र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेको कार्यदल नै बनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै विपक्षी गठबन्धनले राजनीतिक र कानुनी लडाइँ साथसाथै अगाडि लैजाने बताएका बताएका छन् । प्रतिनिधि सभा विघटनविरूद्धका रिटमा सर्वोच्चमा सुनुवाइ भइरहेको छ ।
लोकतन्त्रका पक्षमा जनमत निर्माण गर्नका लागि सडक संघर्ष गर्नेजस्ता कार्यक्रम हुनु स्वभाविक हुने पनि नेत गुरूङको भनाई छ । उनका अनुसार गठबन्धनका दलहरूबीच छलफल गर्दै अगाडि बढ्नुपर्ने भएकोले कार्यदल बनेको हो ।
‘अहिलेसम्म प्राप्त उपलब्धिको रक्षा तथा प्रतिनिधि सभाको रक्षाका लागि सडक संघर्ष नै गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘कोरोना कम हुँदै गइरहेको अवस्थामा छलफल गरेर संघर्षका कार्यक्रम ल्याउने हो।’ निषेधाज्ञाले गर्दा जनता सडकमा आउन नमिलेको पनि उनले बताए। ‘निषेधाज्ञा खुल्यो भने अलिअलि कार्यक्रम हुँदै जान्छ,’ उनले भने। साथै विपक्षी गठबन्धनले जनपरिचालन गर्ने पनि निर्णय गरेको छ ।
पाँच विद्यार्थी संगठन सडकमा
५ विद्यार्थी संगठन सरकारविरूद्ध आन्दोलनमा उत्रने भएका छन् । सरकारले असंवैधानिक काम गरेको भन्दै उनीहरू संयुक्त रूपमा आन्दोलनमा उत्रन लागेका हुन् । आज अपरान्ह ३ बजे प्रदर्शनी मार्गमा विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्न लागेका छन् ।