Logo
Logo

पाँच करोड हिनामिना गरेको आरोपमा २५ जनाविरुद्ध मुद्दा दायर


दृष्टि संवाददाता

1.3k
Shares

दाङ । एक सहकारी संस्थाको करिब पाँच करोड हिनामिना गरेको आरोपमा दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

राप्ती गाउँपालिका–८ मा रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले सहकारीका कर्मचारी र पदाधिकारीविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

मुद्दा दर्तापछि पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी, लेखापाल ३७ वर्षीय विकाश न्यौपाने, सहलेखापाल २९ वर्षीय विक्रम राना र उनकी २७ वर्षीया श्रीमती उषा रानाथापा रहेका छन् ।

सहलेखापाल रानाले रकम हिनामिना गर्ने कार्यमा मुख्य भूमिका खेलेको र श्रीमतीको समेत त्यसमा मिलेमतो भएको आशंकामा उषालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सहकारी संस्थामा आबद्ध राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनालाई प्रहरीले फरारको सूचीमा राखेको छ । संस्था स्थापनाका क्रममा २०७१ सालदेखि सुवेदी सुपरिवेक्षण समितिमा रहँदै आएको भएपनि केही वर्ष पहिले मात्रै चारवटा सहकारी मर्ज गरेर देउखुरी बचत तथा ऋण सहकारी संस्था निर्माण गरिएको थियो । अध्यक्ष सुवेदीले भने आफूलाई राजनीतिक पूर्वाग्रहका कारण यो विषयमा मुछेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्