काठमाडाैं । नेपाली काँग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले आसन्न १४ औं महाधिवेशनमा एक ठाउँमा उभिने संकेत देखाएका छन् ।
शुक्रबार कांग्रेस महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा तीन नेता महाधिवशेन केन्द्रित छलफल गर्दै छ एक ठाउँमा उभिने प्रयत्न गरिरहेको बताएका छन् ।
महामन्त्री कोइरालाले आफूहरु एकै ठाउँमा रहेको र आफुहरुका बीचमा सहमति हुनसक्ने सम्भावना रहेको बताए । त्यस्तै उपसभापति निधिले पनि आफूहरु एकठाउँमा बस्दा देशभरका कार्यकर्ता उत्साहित भएकाले एउटै आवाज हुने दावी गरे । कांग्रेस नेता सिंहले पनि समय आएपछि सभापतिमा को उठ्नेबारे औपचारिक घोषणा गरिने प्रतिक्रिया दिए ।
निधिले सभापति शेरबहादुर देउवासँग छलफलमा पनि तत्काल प्रधानमन्त्री हुन आफूलाई हतार नभएको भन्दै सभापतिमा समर्थन गर्न आग्रह गरेका थिए ।
तर, देउवा आफै सभापतिमा दोहोरिन कसिएपछि निधिले नयाँ समीकरण बनाउन शशांक र प्रकाशमानसँग छलफल गरेका हुन् । केही दिन अघि निधिले वर्षगाँठकाे अवसर पारेर काेइराला र सिंहसँग निजी निवासमा छलफल गरेका थिए ।