Logo
Logo

शर्तसहित सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी


दृष्टि संवाददाता

2.3k
Shares

काठमाडौं । स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न प्रशासन सकारात्मक भएको छ । यही १४ गते पछिल्लो निषेधाज्ञाको समय सकिँदैछ । त्यसपपछि सार्वजनिक यातायात संचालन गर्न पाउनुपर्ने व्यवसायीको माग छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार व्यवसायी र अधिकारीबीच बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल भएको हो ।

करिब दुई महिनाअघिदेखि सार्वजनिक यातायात थन्किँदा मजदुर, सवारी धनी मर्कामा परेको महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताए ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलगायत अधिकारी स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सकारात्मक पाएको उनले जानकारी दिए । कोरोनाको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यातायात चलाउने विषयमा छलफल भएको थियो ।

जोरबिजोर गरेर सवारी चलाउँदा यात्रु कोचाकोच गरेर राख्नुपर्ने अवस्था आउने भएकाले सबै सवारी चलाउनुपर्ने व्यवसायीको माग छ । स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको अनुगमनको व्यवस्था गर्नुपर्ने विषय पनि छलफमा उठेको थियो ।

काठमाडौँ उपत्यकामा मात्र नभई उपत्यकाबाट बाहिर जाने सवारी पनि खुला गर्न व्यवसायीले माग गरेका छन् । सार्वजनिक यातायात चलाएपछि सबै क्षेत्र चलायमान हुने भएकाले सावधानीपूर्वक चलाउने व्यवस्था मिलाउनुपर्ने यातायात व्यवसायीको माग छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले गृहसचिव र मुख्यसचिवसँग सल्लाह गरेर १३ गतेसम्म निर्णय गर्ने प्रतिबद्धता जनाउनुभएको छ । महासङ्घले सार्वजनिक यातायातका चालक, सहचालकलाई अनिवार्यरूपमा खोप लगाउने व्यवस्था गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्