बुटवल । गृहमन्त्री विष्णु पौडेलले ताजा जनादेशमा जानुको विकल्प नरहेको बताएका छन् । अर्थमन्त्री समेत रहेका पौडेलले निर्वाचन अगाडि सवै नेपालीलाई खोप उपलव्ध गराउने समेत दावी गरेका छन् ।
शनिबार बुटवलमा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री पौडेलले भने, ‘नयाँ जनादेश जानुको कुनै विकल्प छैन । निर्वाचन नै अबको निकास हो ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि अन्य दलले वैकल्पिक सरकार बनाउन नसक्दा प्रतिनिधिसभा विघटन गर्नुपरेको दावी गरे ।
संविधान निर्माणपछि राजनीतिक मुद्दामा नभई विकास र समृद्धिमा लाग्ने अठोट गरिएपनि अनपेक्षित दृश्य देखा परेको बताउँदै पौडेलले भने, ‘चाहे पूर्वाधारको विकासका लागि होस् या चाहे मानव सूचकांकका हिसावले होस्, एकपछि अर्को राम्रो काम भएका छन्, अझै हुन्छन् । सबैले अनुभूति गरेका छन् ।’