Logo
Logo

विपदमा सरकारविहीन जनता


नवीन राई

2k
Shares

२०७७ साल त नेपालीका लागि कहरपूर्ण वर्ष बन्यो नै । चाहे त्यो आर्थिक रुपमा होस् वा मानसिक । हरेक क्षेत्रले पीडा महसुस गर्नुपर्याे। कारण, कोभिड महामारी । यो वर्ष पनि देश कहरमै गुज्रिरहेको छ ।

०७८ को सुरुवातसँगै नेपालमा पुनः कोरोना कहर छायो । कोरोना नियन्त्रणको नाममा देशमा फेरि निषेधाज्ञा गरियो । देश निषेधाज्ञामा प्रवेश गरेको पनि तीन महिना पुगिसक्यो । तर, पनि कोरोना नियन्त्रण भने आउन सकेको छैन ।

महामारीकै बीच देशमा अर्को विपद् आइपरेको छ । महामारीसँग जुधिरहेका बेला मुलुक बाढीपहिरोको चपेटामा परेको छ । मनसुनको सुरुवातमै आएको बाढीपहिरोले देशका विभिन्न जिल्लाहरू प्रभावित बनेका छन् ।

मनसुन भित्रिएदेखि एक सय दिनलाई नेपालमा प्राकृतिक विपद्को समय मानिन्छ । योे अवधि सर्वसाधरणको लागि निकै जोखिमपूर्ण हुने देखिन्छ ।

नेपालमा प्राकृतिक विपद् आएको पहिलो पटक भने होइन । हरेक वर्ष नेपालले विपद सामाना गर्दै आएको छ । बाढीपहिरोबाट वर्षेपिच्छे ठूलो संख्यामा धन, जनको क्षति हुनुका साथै लाखौँ विस्थापित बन्ने गरेका छन् । यसपालि पनि बाढीपहिरोबाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान छ ।

यो वर्ष पूर्ण मनसुन सुरू भएको छैन । तर, बाढीपहिरोले थुप्रैको प्राण लिइसक्यो । कति त अझै वेपत्ता छन् । सयौं घरवारविहीन भएका छन् । करोडौंको धनमाल क्षति भएको छ ।

बाढीपहिरोका कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्यूठान, कास्की, पर्वत, म्याग्दी, डोटीलगायतका जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट सबैभन्दा बढी सिन्धुपाल्चोक र मनाङ प्रभावित भएकोे छ ।

कोरोनासँगै अन्य रोगको जोखिम

महामारीका बीच प्राकृतिक विपत्ति र अन्य रोगको उत्तिकै जोखिम रहेको छ । बाढीपहिरोका कारण विस्थापित भएकाहरू अहिले सामुहिक रुपमा अस्थायी बसोबास गरिरहेका छन् । यस्तो अवस्थामा बाढीपहिरोका कारण मात्र नभइ अन्य स्वास्थ्य समस्याको पनि जोखिम बढ्ने चिकित्सक बताउँछन् ।

त्यसो त बर्खायाममा उसैपनि सरुवा रोगको खतरा उच्च नै हुन्छ । झन् बाढीपहिरो प्रभावित क्षेत्रहरूमा पानीको माध्यमबाट सरुवा रोगहरू फैलने गर्दछ । बाढीपहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोकको मेलम्चीमा त पानीजन्य रोगको संक्रमण देखिन थालिसकेको छ ।

सत्ता जोगाउन रातारात मन्त्रीपरिषको बैठक बसी मध्यरातमा संसद विघटन गर्ने सरकार जनता विपदमा पर्दा मध्यदिनमै घुरिरहेको छ । जनतालाई महामारी र विपदबाट कसरी जोगाउने भन्ने कुरालाई बिर्सेर सरकारको ध्यान अझै पनि सत्ता कसरी जोगाउने भन्नेतिर नै छ ।

महामारीको बीचमा थपिएको विपत्तिले प्रभावित क्षेत्रमा विभिन्न किसिमका रोग तथा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै सचेत रहन विज्ञहरूले सुझाव दिँदै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सार्वजनिक सूचना जारी गर्दै थप सतर्क र सजग रहन आग्रह गरिसकेको छ ।
विपद्पछि संक्रामक रोगहरू फैलिन सक्ने सम्भावना बढी हुने चिकित्सकहरू बताउँछन् । त्यस्ता रोगहरु फैलिन नदिन मानिसहरूले व्यक्तिगत सरसफाइमा अझ बढी ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

नेपालमा कोरोना जोखिम पनि हटेको छैन । बाढीपहिरोको चपेटामा रहेका समुदायहरुमा कोरोना भाइरसको मिश्रित जोखिमले थप गम्भीर बनाउने विज्ञहरूको तर्क छ । विपद्पछि सामुहिक रुपमा बस्दा कोरोनासँगै लेप्टोस्पाइरोसिस, झाडापखाला, हैजा, आउँ, टाइफाइड, डेंगी, हावाबाट सर्ने रोगको पनि जोखिम भएको चिकित्सक बताउँछन् ।

बाढीपहिरो प्रभावित क्षेत्रमा विभिन्न संघ, संस्था र व्यक्तिहरूले कोरोनाको ख्याल नै नगरी राहत वितरण गरिरहेका छन् । यसरी धेरै मानिसहरुबीच सम्पर्क हुँदा बाढीपहिरो प्रभावित क्षेत्रमा कोरोना संक्रमणको पनि जोखिम रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । राहत वितरणका लागि जानेहरूबाट पनि कोरोना सर्ने सक्ने डा. पुनको भनाइ छ ।

महामारी, प्राकृति विपत र निकै लामो निषेधाज्ञाका कारण भोकमरी पनि अझ बढ्ने खतरा छ । गरिब, किसान, मजदुरहरू एकछाक खाएर भएपनि सरकारी निर्णयको पालना गरिरहेका छन् । तर जनताकै मतबाट सरकारमा पुगेकाहरू भने सत्ताको महामारीबाट पन्छिन सकेका छैनन् ।

सत्ताको विपद

जनता कोरोनाको त्रासमा छन् । बाढीपहिरोबाट पीडित छन् । धेरैले आफन्त गुमाएका छन् । धेरै घरवारविहीन भएका छन् । अझै लाखौँ प्रभावित हुने अनुमान छ । तर, सरकारको भने अझै चेत खुलेको छैन ।

जनतालाई महामारीसँगै आएको प्राकृतिक विपदले सताएको छ । राजनीतिक दलहरूलाई सत्ताको सत्ताको महामारीले लपेटेको छ । सरकारलाई सत्ताको विपद आएको छ । जनताले दिएका जिम्मेवारीलाई थाती राख्दै सत्ताको बाढीबाट कसरी कुर्सी जोगाउने भनेर शासक लागिपरेका छन् । जनतालाई सरकारको सबैभन्दा बढी आवश्यकता परेको बेला सरकार लाचार बनेको छ ।

सत्ताको विपदसँगै आएको बाढीले राजनीतिक उथलपुथल छ । सत्ताको बाढीमा जुधिरहेका शासकने प्राकृतिक विपत्ति र अन्य रोगसँग लड्न खासै चासो दिएको छैनन् । संसद विघटनविरुद्ध दायर मुद्दा सर्वोच्चमा विचाराधीन छ । प्रधानमन्त्रीमा विपक्षी गठबन्धनको दावी यथावत छ । जे होस् त्यसको प्रत्यक्ष असर भने जनतामा नै परेको छ ।

सत्ता जोगाउन रातारात मन्त्रीपरिषको बैठक बसी मध्यरातमा संसद विघटन गर्ने सरकार जनता विपदमा पर्दा मध्यदिनमै घुरिरहेको छ । जनतालाई महामारी र विपदबाट कसरी जोगाउने भन्ने कुरालाई बिर्सेर सरकारको ध्यान अझै पनि सत्ता कसरी जोगाउने भन्नेतिर नै छ ।

सत्ताको लागि सडकमा ‘हामी यहाँ छौँ’ भन्ने र सर्वोच्च अदालतको ढोका समेत ढकढक्याउन पछि नपर्ने राजनीतिक दलका नेताहरू पनि एसीमा बसेर जनताको विपद हेरेर हेरिरहेका छन् ।

नेपालीमा एउटा उखान छ– …लाई भन्दा देख्नेलाई लाज । सरकार र राजनीतिक दलमा पनि यस्तै देखिएको छ । सरकार सत्ता टिकाउन अनेकैं जालझेल गर्दै आएको छ । विपक्षी गठबन्धन भने केन्द्रदेखि प्रदेशमा आफ्नो सरकार बनाउन पहल गरिरहेको छ ।

विपदबाट जनतालाई जोगाउन न सरकारले पहल गर्छ न विपक्षी गठबन्धन नै बन्छ । त्यसैले त राजनीतिक दलकै कारणा देश संकटमा परेका जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई स्वीर्काछन् ।

पूर्वतयारीको बेला सत्ता जोगाउनै भ्याइनभ्याइ भएको सरकारले अहिले विपदमा परिचालित हुन सबैलाई आग्रह गरेको छ । ‘हगी सक्यो अनि दैलो देख्यो’ भनेजस्तै ! तयारी र योजनाविना कार्यकर्ता परिचालन गरेर मात्रै विपद व्यवस्थापन हुँदैन ।

अहिलेको दुरवस्था सरकारी लापारवाहीको परिणाम हो । तरm प्राकृतिक विपद यतिमा सकिदैन । पूर्ण मनसुनको बेला झनै धेरै जनधनको क्षति हुने देखिन्छ । त्यसैले सरकारले अहिले नै योजना बनाएर काम गर्ने हो भने क्षति न्यूनिकरण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्