Logo
Logo

बगरमा जब पैसा फल्यो


दृष्टि संवाददाता

504
Shares

बगरमा फलाएको कृषि उत्पादन देखाउँदै किसान। तस्बिरः अन्नपूर्ण पोष्ट्


महोत्तरी । कुनै बेला असार–साउनमा बाढीको भेल र चैत–वैशाखमा खोलाको बालुवा उड्ने रातु खोलाको बगर अहिले हराभरा छ । महोत्तरीको भंगहास्थित २ सय ४२ बिघा बगर किसानको पाँच वर्षको कठोर परिश्रमले ऊर्बर बनेको हो ।

खोलाको बगरमा आँप लटरम्म फलेका छन् । लिची, कागतीको बोट लहलह हुर्किँदैछन् । त्यहाँ उब्जाएका परबल, भान्टा, रामतोरिया, फर्सी, लौका, काँक्रो, खुर्सानीजस्ता सागसब्जी बिक्री गरेर किसान मालामाल बनेका छन् । तर्बुजा खेती गरेका छन् । विभिन्न जातका २० हजारवटा फलफूलका बिरुवा रोपिएका छन् । ६१ बिघा जमिनमा वृक्षरोपण गरेर किसानले खाली जमिनमा खेतीपाती पनि गरिरहेका छन् । बगर खेतीले २ सय ४८ घरपरिवारको जीवन फेरिएको छ । २५ दलित परिवारलाई ऐलानी जग्गा दिएर आँपको बोट र खेती गर्न प्रोत्साहित गरिएको छ ।

चार दशकअघि रातु खोलाको भीषण बाढीले भंगहा नगरपालिकाको पर्सा, संग्रामपुर, कविलाशा, मेघनाथ गोरहन्नाको खेतीयोग्य जमिन कटान गरेको थियो । किसानको कन्तबिजोग मात्रै भएन, उठीबासै लगायो । ‘खेतमा लहलह झुलेका धान र मकै खेतमा बाढीको भेल कुद्न थाल्यो,’ पर्साका ५६ वर्षीय किसान रामनारायण सिंह भन्छन्, ‘छिनभरमै बालुवाले खेतको बालीनाली पुरिदियो। उर्बर भूमि बन्जर बनायो । किसान भूमिहीन भए।’ २०३२–०३३ सालको रातु खोलाको वितण्डा उनले यसरी सुनाए ।

चार दशकसम्म खोलाले बनाएकोे बगरमा बालुवा उडिरह्यो । हावाले उडेर गाउँमा पस्ने धुलोले गाउँलेलाई सताउँथ्यो । खोलाले सुकुम्बासी बनेका किसान परिवार पाल्न भारतको दिल्ली र पन्जाब धाउन थाले । २०६४ सालयता जनताको तटबन्ध कार्यक्रमले रातु नदीका तीन भँगाला बाँधेर एउटामा मात्र पानी बग्ने बनाइएपछि बगरको संरक्षण भएको हो । उराठलाग्दो बगरमा किसानले तरकारी खेती गरेर जीवन चलाएको किसान रामपुकार सिंह बताउँछन् ।

‘गाउँलेले बगरलाई संरक्षित क्षेत्र घोषणा गरेका छन् । चरिचरन निषेध छ । गाईवस्तु पसे ११ सय जरिवाना लग्छ,’ रातुखोला फलफूल रोपन समूहका अध्यक्ष जासर यादवले भने, ‘सहयोगी संस्थाहरू खोजेर सिँचाइ बोरिङ गाडेका छौं।’ पानी तान्न पम्पसेट खरिद गरेर सिँचाइको प्रबन्ध मिलाइएको छ । सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिबास महोत्तरीको पहलमा रातु खोला फलफूल रोपन, चारपिपरा माई फलफूल तथा वृक्षरोपण र सुखदाता माई रातुखोला फलफूल तथा आयआर्जन समूह गठन गरेर किसानले बगरलाई हरियाली बनाएका हुन् ।, यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्