काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको लडाई प्रधानमन्त्री बन्नका लािग नभएर संविधान र लोकतन्त्र रक्षाका लागि भएको बताए ।
शनिबार बिपक्षी गठबन्धनले पत्रकारसंग गरेको अन्र्तक्रियामा प्रचण्डले गठबन्धनका नेताहरु कसैलाई पनि प्रधानमन्त्री बन्न हतारो नभएको र अहिलेको लडाई प्रधानमन्त्री बन्नलाई नभएको बताएका हुन् ।
प्रचण्डले अहिले संविधानमाथि निर्मम ढंगले प्रहार भइराखेको र देशलाई अराजकता, संविधानहिनताको भूमिरीमा हाल्ने दुष्प्रयास भइराखेको उल्लेख गरे । प्रचण्डले सर्वोच्च अदालतले लोकतान्त्रिक मूल्य–मान्यता र संविधानअनुसार फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको जिकिर गरे । प्रचण्डले आफूले सेटिङ गरेको नभई संविधान अनुसार नै देउवा प्रधानमन्त्री हुने बताए ।
प्रचण्डले ५ दलीय गठवन्धनले लोकतन्त्र, संविधानको रक्षा र जनतालाई विकास र समृद्धि दिन लडिरहने जिकिर गरे । प्रचण्डले गुठी विधेयकबारे देशव्यापी विरोध हुँदा ओली दमन गर्ने पक्षमा भएको र त्यसो गरे आफू सडकमा जाने चेतावनी दिएपछि विधेयक फिर्ता लिएको बताए ।
त्यस्तै कांग्रेस सभापति शेर बहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी केपी ओलीका कार्यकर्ताजस्तो बनेको आरोप लगाए । प्रधानमन्त्रीको दाबी गर्दै आफूले १४९ जना सांसदको हस्ताक्षर बुझाए पनि हस्ताक्षर सनाखत नगरेर राष्ट्रपतिले गल्ती गरेको उहाले बताउनुभयो । त्यस्तै उहाले संविधानको व्याख्या गर्ने अन्तिम ठाउँ अदालत भएको भन्दै आफूहरूको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले ओली पक्षबाट आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको बताए । उनले बिभिन्न प्रलोभन आएपनि कुनै पनि हालतमा गठबन्धनलाई धोका नदिने बताए । उहाले सर्वोच्च अदालतको फैसलापछि कांग्रेस सभापति देउवा नै प्रधानमन्त्री बन्ने पनि बताए । आफूहरु एमालेको विद्रोही पक्ष भएको भन्दै नेपालले अहिलेको लडाइँ केपी ओली प्रवृत्तिविरुद्ध भएको जिकिर गरे ।
त्यस्तै जनता समाजवादी पार्टी नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ६ गते मार्ग प्रशस्त नभइ, मार्ग अवरुद्ध गरेको आरोप लगाए । अन्तक्र्रियामा बिपक्षी गठबन्धनका अन्य नेताहरुको पनि सहभागीता रहेको थियो ।