Logo
Logo

एमाले विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी


दृष्टि संवाददाता

756
Shares


काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी भएको छ । केपी शर्मा ओली र माधव नेपाल समूहबीच तीन महिनासम्म चलेको रस्साकस्सीपछि २०७५ जेठ २ गतेअघिका सबै कमिटी ब्युँताएर अघि बढ्ने तयारी भएको हो।

एमालेभित्र विद्रोह गरिरहेको नेपाल समूहले पार्टीका सबै संरचना २०७५ जेठ २ गतेअघिको अवस्थामा फर्काउन माग गर्दै आएको थियो । ओलीले त्यसलाई बेवास्ता गरेपछि नेपाल समूहले समानान्तर कमिटी बनाएर चुनौती दिएको थियो । त्यतिमात्र नभएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन समर्थन गरेपछि अध्यक्ष एवं प्रधानमन्त्री ओली केही दिनमै सबै कमिटी पुरानै अवस्थामा पु¥याउने तयारीमा देखिएका हुन् ।

यसका लागि अनौपचारिक रुपमा छलफल गरिरहेका ओली र नेपाल पक्षीय नेताहरूले सहजीकरण गरेका थिए । एमाले स्रोतका अनुसार गत फागुन २८ गतेपछि दुवै तर्फबाट गरिएका सबै निर्णय बदर हुनेगरी सहमति गरिएको छ । १६ गते यी सबै निर्णय बदर भएको घोषणा गर्दै पदाधिकारी र स्थायी कमिटी बैठक बोलाइने स्रोतले बतायो ।

ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र नेपाल पक्षबाट घनश्याम भुसल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, भीम आचार्यले निरन्तर संवाद गरिरहेका थिए । उनीहरूले बुधबारदेखि नै विवाद निरुपणका लागि मस्यौदा बनाएर छलफल गरेका थिए । मस्यौदामाथि दुवै पक्षका नेताले शुक्रबारसम्म छलफल गरी सोही दिन राति ओली र नेपाललाई बुझाएका छन् । ओली र नेपालले भने यसबारेमा प्रतिक्रिया जनाएका छैनन ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्