Logo
Logo

महाधिवेशनको सरगर्मीले कांग्रेसको गुट वडासम्म मौलायो


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । कांग्रेसका सक्रिय सदस्य वितरणकै क्रममा वडा तहमै ‘गुट’ खडा भैसकेका छन् । यसको दृष्टान्त हो ‘सक्रिय’ सदस्यतामा गरिएको भागबण्डा ।

वडा तहबाट सिफारिस हुने सक्रिय सदस्यता नामावलीमा नाम भागबण्डा गरेरै केन्द्रमा पठाइए, फलतः केन्द्रले पनि उनै भागबण्डा गरेरै पठाइका नामावलीलाई सदर गर्यो ।

कांग्रेसी पुराना नेताका अनुसार सक्रिया सदस्यताको यो वितरण प्रणाली नयाँ र नौलो भने होइन । कांग्रेसका एक पुराना जिल्ला नेता भन्छन्, ‘यो नयाँ र नौलो विषय हैन, यो त कांग्रेसभित्रको पुरानोे रोग हो ।’ उनले भने जस्तै जिल्लाका हरेक वडाबाट अहिले वितरण भएको सदस्यता निष्पक्ष छैन ।

कांग्रेस नेताहरूका अनुसार जिल्लाका एक सयवटै वडाबाट सक्रिय सदस्य भागबण्डाकै आधारमा टुंग्याइएका छन्। यसको एउटै उद्देश्य हो ‘क्षेत्रीय तथा जिल्लामा जित्ने लक्ष्य।’

पार्टीको तल्लो तह (वडा एकाइ समिति) को निर्वाचनमा उनै ‘टिम’ मा परेर सदस्य बनेका कांग्रेस कार्यकर्ताले मतदान गर्दैछन् । कांग्रेसले तोकेको आफ्नो महाधिवेशनको कार्यतालिका अनुसार १२ साउनमा वडा एकाइ समितिको निर्वाचन हुँदैछ ।

जिल्ला नेतृत्व चयनका लागिसमेत मतदाता (क्षेत्रीय प्रतिनिधि) चुनिने महत्वपूर्ण मानिएको वडा एकाइ समितिको निर्वाचनलाई लक्षित गर्दै कांग्रेस जिल्लास्तरका नेता अहिले गाउँ केन्द्रित बनेका छन् । उनीहरू ‘कोटा’ मार्फत चुनिएका सक्रिय सदस्यहरूलाई आफ्नो गुटको ‘आधिकारिकता’ दिन प्रयत्नशील छन् ।

यससँगै फरक टिमबाट चुनिएका सक्रिय सदस्यहरूलाई कसरी आफ्नो गुटमा प्रवेश गराउन सकिन्छ भन्ने रस्साकस्सी पनि जिल्लाका कांग्रेसीभित्र चलेको छ । ‘आसन्न जिल्ला अधिवेशनलाई लक्षित गरेर वडा तहमा आ–आफ्नो टिम निर्माण गर्ने क्रम व्यापक रूपमा चलिरहेका छन्,’ तुलसीपुरका एक कार्यकर्ताले भने, ‘कसरी आफ्नो टिमलाई जिल्ला अधिवेशनमा बलियो बनाउने भन्ने सोँचमा नेताहरू लागिपरेका छन्।’

साउन १२ लक्षित गर्दै गुट निर्माणमा लागेका नेताहरू जिल्ला अधिवेशनमा आफ्नो वा आफ्नो गुटको वर्चश्व कायम गर्न खोज्दैछन् । वडा अधिवेशनबाटै चुनिने क्षेत्रीय प्रतिनिधि नै जिल्ला नेतृत्वका लागि हुने निर्वाचनका मतदाता हुन् ।

उनीहरू क्षेत्रीय (प्रदेश तथा प्रतिनिधि) समितिसँगै जिल्ला मतदाता हुन पाउँछन् । फलतः अहिले क्षेत्रीय तथा जिल्ला तहका नेताहरूले वडा तहका मतदाताहरूलाई निकै महत्व दिएर निगरानी गरिरहेका छन् ।

उनीहरूले धरैभन्दा धेरै आफ्नै गुटका कार्यकर्तालाई क्षेत्रीय प्रतिनिधिका रूपमा चयन गर्न खोजिरहेका छन् । क्षेत्रीय प्रतिनिधि आफू गुटका बढी ल्याउन सकिए क्षेत्रीय र जिल्ला समितिको नेतृत्वमा आफ्नो पकड जमाउने ध्याउन्नमा नेताहरू छन् ।

‘वडा तहमा परिपक्व टिम निर्माण गरेर आफू पक्षका धेरैभन्दा धेरै कार्यकर्तालाई क्षेत्रीय प्रतिनिधिका रूपमा चयन गर्ने दाउमा नेताहरू देखिन्छन्’, कांग्रेस घोराहीका एक वडास्तरीय नेताले भने, ‘क्षेत्र र जिल्ला नेतृत्व चयन गर्ने क्षेत्रीय प्रतिनिधि बढीभन्दा बढी ल्याएर क्षेत्र र जिल्ला नेतृत्वमा आफ्नो पकड जमाउने लक्ष नेताहरूले बोकेका छन् ।’

नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगीले वडा तहमा चलेको गुटको यो रस्साकस्सीलाई नकार्दैनन् । आफूले चाहेका वा आफ्नो गुटमा रहेकाहरूलाई मात्रै क्षेत्रीय प्रतिनिधिका रूपमा चयन गर्ने रस्साकस्सी भन्दा पनि सहमतीय आधारमा क्षेत्रीय प्रतिनिधिमा चयन गरिनु पर्नेमा उनले जोड दिए । अन्यथाः कांग्रेसभित्रको गुटगत राजनीतिको अन्त्य हुने सम्भावना उनले देख्दैनन् ।

कांग्रेसका जिल्लामा झण्डै १२ हजार सकृय सदस्य छन् । साउन १२ देखि वडा एकाइबाट र २६ साउनमा जिल्ला अधिवेशन हुनेछ ।

यो समाचार आजको नागरिक नैदिनकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्