Logo
Logo

मनसुनबाट हालसम्म २६ जिल्ला प्रभावित, २७ मृत्यु


दृष्टि संवाददाता

819
Shares

काठमाडाैं । मुलुकमा यसपाली मनसुन शुरु भएलगत्तै गत जेठ अन्तिम सातादेखि परेको भारी वर्षाले सिन्धुपाल्चोक र मनाङसहित देशका २६ जिल्ला प्रभावित बनाएको छ ।

बाढी पहिरोमा परी ठूलो जनधनको क्षति भएको छ । गृह मन्त्रालयका अनुसार हालसम्म विपद्बाट मुलुकभर २७ जनाको मृत्यु भएको छ भने २६ जना वेपत्ता छन् । अन्य १९ जना घाइते भएका गृहप्रवक्ता जनकराज दाहालले जानकारी दिए।

उनका अनुसार कुल ४ सय ६२ घर पूर्ण क्षति भएको र ११० घरमा आंशिक क्षति भएको छ । बाढी र पहिरोबाट प्रभावित भएकामध्ये एक हजार ६०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

सेनाको हेलिकप्टरबाट कूल २ सय ६८ जना र सबै सुरक्षाकर्मीको प्रयासमा ४०० भन्दा बढीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । यसपाली बाढी पहिरोबाट प्रभावित सिन्धुपाल्चोक र मनाङ जिल्लामा हेलिकप्टरमार्फत राहत पुर्याइएको थियो ।

मन्त्रालयका अनुसार प्रभावित क्षेत्रको निजी आवास पुनःनिर्माणलाई उच्च प्राथमिकता दिइएको छ । त्यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण सक्रिय भएर लागेको मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयबाट अहिलेसम्म तीन हजार ९४९ लाभग्राहीको निजी आवास पुनःनिर्माणका लागि रु १९ करोड ९७ लाख ७३ हजार रकम वितरण गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्