काठमाडौं । नेकपा एमालेका नेताहरु आज पनि छलफलमा जुटेका छन् । शुक्रबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा पार्टीका बरिष्ठ नेता माधब नेपाल पक्षलाई सहभागी गराउन नेपी ओलीको पक्षका नेताहरु छलफलमा जुटेका हुन् ।
स्रोतका अनुसार बुधबार महाधिवेशन आयोजक कमिटी भंग गरी एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीका हैसियतमा माधव नेपाल पक्षसहितको बैठक बोलाएको हो ।
एमालेका दोस्रो तहका नेताबीच बुधबार राति अबेरसम्म छलफल भएको थियो । तर केही विषयमा सहमति हुन सकेन । विशेषगरी जेठ २ अघिको एमालेको मात्र बैठक बस्नुपर्ने माग नेपाल पक्षको छ ।
त्यस्तै अदालतमा एमालेका २३ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर तथा समर्थनको विषयमा के गर्ने ? भन्नेमा कुरा मिलेको छैन । त्यस्तै एमाले एकतावद्ध भएर पार्टी नेतृत्वको सरकारको निरन्तरताको पक्षमा लाग्ने भन्ने शब्दमा समेत नेपाल पक्षका केही नेता सहमत छैनन् ।
स्रोतका अनुसार बुधबारदेखिनै संस्थापन पक्षबाट उपमहासचिव विष्णु पौडेल र नेताहरु सुवास नेम्वाङ तथा शंकर पोखरेल वार्तामा छन् । वार्तामा नेपाल पक्षका उपमहासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य, गोकर्ण विष्ट र नेता सुरेन्द्र पाण्डे सहभागी छन् ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री पौडेलले विपद् व्यवस्थापनसम्बन्धी बैठक राखेकाले छलफलमा केहीबेर सहभागी भएर निस्केका छन् भने अरु नेताहरुको छलफल चलिरहेको एक नेताले बताए ।
यसैबीच माधव नेपाल पक्षले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा भाग लिने कि नलिने भन्ने बारेमा आफ्नो समूहको निर्णय गर्न आजै स्थायी कमिटीका सदस्यहरुको बैठक राखेको छ ।