काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपति विद्या भण्डारीले राष्ट्रियसभाको बैठक आह्वानसँगै बिहीबारदेखि बैठक सुरु भएको छ ।
राष्ट्रपतिले बैठकलाई सम्बोधन गर्ने भनिएपनि मिति भने तय भएको छैन । नेकपा एमाले राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार राष्ट्रपतिले सम्बोधन गर्ने मिति भने तय भइनसकेको बताएका छन् ।
बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिले सम्बोधन गर्ने भनी सरकारबाट जानकारी आएको बताएका थिए ।
राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन रहेपनि प्रतिनिधिसभा विघटन भएकाले यो वर्ष उनले संसदमा सम्बोधन गरेकी छैनन् ।