काठमाडौं । प्रदेश नम्बर १ मा कोरोना संक्रमण तिव्र रुपमा बढ्न थालेको छ । दोस्रो लहरको सुरुवाती दिनमा कम देखिएको संक्रमण अहिले बढेको हो ।
बिहीबारको तथ्याङकअनुसार प्रदेश नम्बर १ का जिल्लामा १४७२ को परीक्षण गर्दा ६ सय ४८ जनामा संक्रमण पुष्टि छ । अर्थात् संक्रमणदर ४४.०२ प्रतिशतमा उक्लेको छ । प्रदेश १ मा यो अहिलेसम्मकै उच्च हो । खासगरी झापा, मोरङ र सुनसरीमा संक्रमण बढेको छ । बागमती प्रदेशमा भन्दा धेरै नयाँ संक्रमितको संख्या प्रदेश नम्बर १ मा थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार झापामा २४८, मोरङमा १७६ तथा सुनसरीमा १२९ जनामा संक्रमण भएको छ ।
संक्रमण दर उच्च हुँदा पनि स्वास्थ्य मापदण्ड पालना नगर्दा जोखिम बढेको छ । कडाई नगरिए पूर्वमा बैशाखको तेस्रो हप्ता काठमाडौंमा जस्तै अवस्था आउन सक्ने चिकित्सकहरू बताउँछन् ।