वारा,पर्सा र रौतहटमा आइतवार आएको आँधी हुरी प्रभावित जनतालाई सहयोग गर्न सबै तहको सरकारले तत्काल सहयोग गर्नु कर्तव्य हो । यो दुई दिनमा सबैले सहयोग गरेको छ । तर यो भन्दा अझ धेरै सहयोग गर्न सकिन्थ्यो ।
सरकारका उच्च नेताहरु भोलीपल्टै सो क्षेत्रमा पुग्नु राम्रो कुरा हो । तत्काल गरिएका उद्धार तथा राहतका कामहरु सकारात्मक पक्ष हुन् । तर यो भन्दा अझ वढी गर्न सकिने थियो ।
केन्द्र सरकार संग यस्तो प्राकृतिक प्रकोपका लागि भनेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २०० करोड भन्दा वढी रकम मौज्दात रहेको छ । सरकारका ठुला नेताहरु त्यस क्षेत्रमा जानु संगै दश एघार वटा हेलिकप्टरहरु प्रयोग गरी तात्काल राहतका सामाग्रीहरु समेत मन्त्रीहरुले लानुभएको भए अझ राम्रो हुने थियो । यो असम्भव कुरा पनि थिएन सरकारका लागि । तर आफ्नै खल्तिवाट दिनु पर्ला जस्तो गर्ने मनोवृत्ति र गर्नपर्ने मुख्यकाम छोडेर प्रचारात्मक देखावटी काम गर्ने प्रवृति सरकारमा अझै देखिनुले राम्रो सन्देश जाँदैन ।
पछि पनि यस्ता घटनाहरु हुन सक्नेछन् । पछि यस्ता प्रकोपहरु हँुदा सरकारमा रहेका मन्त्रीहरुको ताँती निरिक्षण गर्न जाने काम संगै राहतका सामानहरुपनि तत्काल हेलिकप्टरवाट लाने व्यवस्थावारे अहिल्यै सोचिराख्नु राम्राे होला ।
प्रदेश सरकारले मृतकहरुलाई तत्काल ३ लाखको राहत घोषणा गरेको छ । यसैगरी केन्द्र सरकारले पनि तत्काल केही राहत मृतक परिवार, घाइते परिवार तथा वास र गाँसको नै समस्यामा परेका परिवारलाई घोषणा गरी तत्काल वितरण गरेको भए राम्राे हुने थियो । तर नानी देखिको वानी अझै सरकारमा देखियो ।
भोकाएको भन्छ खोला वारी खाउँ, अघाएको भन्छ खोला पारी खाउँ भन्ने उखान लागु हुन सरकारले दिनु हुन्न । सरकार अघाएको देखिनु र पिडित जनता मात्रै भोका नांगा वास विहीन हुनु राम्रो होइन ।
आखिर २०० करोड रकम जनता कै हो । यस्तै काममा लगाउन नै जम्मा भएको हो ।
यस्तो आँधी आउने अनुमान गर्न २ करोड वर्षको लगानी सरकारले गरे पुग्ने विज्ञहरु वताउँछन् । तर सरकारले यति वजेट पनि दिन कन्जुस्याई गरेको रहेछ । अझैपनि सरकारी विभागले पंचायतकालीन तरिकाले देशलाई पूर्व मध्य पश्चिम भनेर मात्रै तीन खाले मौसम भविश्यवाणि गर्ने गरेकोछ । अब त कम्तिमा प्रदेश सम्मको भएपनि भविश्यवाणि आउने व्यवस्था सरकारले गर्ला कि ?
रवीन्द्र श्रेष्ठ