Logo
Logo

माथिल्लो साञ्जेन विद्युत् आयोजनाको निर्माण कार्य यसै वर्षभित्र सम्पन्न होला त ?


दृष्टि संवाददाता

1.2k
Shares

रसुवा । रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन विद्युत् आयोजनाको छिट्टै उपकरण जडान हुने भएको छ ।

सिम्बु गाउँमा रहेको सो आयोजनाको भौतिक निर्माण सम्पन्न भई विद्युत् उत्पादन गर्ने उपकरण जडान शुरुआत हुन लागेको हो । अहिले अधिकांश उपकरण आयोजनास्थलमा आइसकेको र कोभिड–१९ को महामारीले उपकरण जडान ढिलो भएको आयोजना प्रमुख सुदनसिंह महतले जानकारी दिए ।

उनले भने, ‘विसं २०७८ भित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । अब छिट्टै उपकरण जडान शुरुआत हुन्छ ।’ उपकरण जडानका लागि चिनियाँ प्राबिधिक टोली आउन लागेको जानकारी दिइएको छ । हाल चीनले बाह्य हवाई उड्डयन रोकेकाले उनीहरु आउन ढिलाई भएको आयोजनाले जानकारी दिएको छ । १४ दशमलव ८ मेगावाट (मेवा) विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको सो आयोजनाको प्रायजसो संरचना निर्माण पूरा भएको छ ।

तिलोचे खोलामा १४ मिटर लामो बाँध, एक हजार ३८० मिटर लामो हेडरेस सुरूङ, ३४५ मिटरको पेनस्टक पाइप सुरूङ एवं पाइपलाई कंक्रिट समेतका निर्माण सम्पन्न भएको आयोजना प्रमुख महतले जानकारी दिए ।

प्रतिसेकेण्ड ११ दशमलव ७ धनमिटर पानी विद्युत् गृहमा पठाइने र तीन फ्रान्सिस नामको टरवाइन राखिने बताइएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१३ देखि निर्माण शुरूआत भएको थियो । बाढी पहिरो, पेट्रोलियम पर्दाथको अभाव, भूकम्प र कोरोना संक्रमणको जोखिम जस्ता विविध कारणले सो आयोजनाको निर्माण ढिलाइ भएको जानकारी दिइएको छ ।

आयोजनाको लागत भने २ अर्ब २ करोड रुपैयाँ रहेतापनि पुनराबलोकन गर्दा २० प्रतिशतले उत्पादन लागत बढ्ने आयोजना प्रमुख महतले बताए ।

प्रतिक्रिया दिनुहोस्