काठमाडौं । उनी घर आए । कतार फर्केर जान भिसा अवधि सकिएको थियो । कपिलवस्तु नगरपालिका–१ मस्जिद टोलका ३४ वर्षीय रकिबबुद्दिन गौरी अहिले तनावमा छन् । दोहाको विज्ञापन कम्पनी तलविन ग्रुपमा कार्यरत उनी निर्धारित समयमा त्यहाँ जान नपाउँदा छट्पटिँदै बसेका छन् । उनी डिजाइनर हुन् । कम्पनीलाई अनुरोध गरेर बल्लतल्ल भिसा मगाए ।
यसैबीच कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भयो । त्यसपछि खोप लगाएका कामदारलाई मात्र कतार प्रवेश अनुमतिको नियम लागू भयो । खोप लगाउन नपाएकाले कतार जान रोकिँदा उनी पिरोलिएका हुन् ।
स्वास्थ्य कार्यालयसम्म पुगेर हारगुहार नगरेका होइनन् । तर सीमित खोप, त्यसमा पनि फ्रन्टलाइनर र वृद्धवृद्धामात्रै सरकारको प्राथमिकतामा रहँदा उनले लगाउन पाएनन् । कपिलवस्तु–१ बहादुरगन्ज चोकका ३२ वर्षीय नूर मोहम्मद पनि कतारको
भिसा हुँदाहुँदै उड्न नपाउने स्थितिमा छन् । दोहामा भ्यानचालक काम गर्न भिसा पाएका उनी खोप लगाउन नपाएकै कारण जानबाट वञ्चित भएका छन् । ‘बडो संघर्ष गरेर भिसा आयो,’ उनले भने, ‘खोप नलगाएकालाई कतार आउन नदिने भनेपछि वर्ष दिन संघर्ष गरेर पाएको भिसा पनि काम नलाग्ने भएको छ ।’
उनीहरूजस्तै जिल्लाका ३० जनाभन्दा बढी कामदार अहिले खोपकै कारण खाडी मुलुक जानबाट वञ्चित भएका छन् । खाडीका मुलुकले खोप लगाएका कामदार मात्रै लैजाने आदेश जारी गरेपछि नेपाली श्रमिकलाई मर्का परेको हो । सरकारले एक त खोप नै भित्र्याउन सकेको छैन, त्यसमाथि छिटपुट आएका मात्रामा पनि वैदेशिक रोजगारीमा जानेलाई खोप लगाउन पाउने प्राथमिकतामा राखेको छैन । स्वास्थ्यकर्मी, प्रहरी, कर्मचारी, सञ्चारकर्मी, ज्येष्ठ नागरिकलगायतलाई मात्र खोप दिएको छ । ‘भिसाको म्याद सकिन महिना दिन बाँकी छ,’ गौरीले भने, ‘अब जान नपाउने पक्कापक्कीजस्तै छ ।’ कम्पनीले पठाएको भिसाको म्यादमा जान नपाए पुनः बोलावट नआउने उनलाई चिन्ता छ ।
‘खोप कहिले लगाउन पाइन्छ भन्दै रेडियो सुनेर बस्छु,’ नूर मोहम्मदले भने । खोप ल्याएर सहज बनाउनेतर्फ सरकारको तयारीका खबरले ढुक्क नलाग्दा निद्रा आउन पनि छोडिसकेको उनले सुनाए । डेढ वर्षअघि नेपाल फर्केका उनी अहिले कमाइ नभएपछि फेरि रोजगारीका लागि कतार जान लागेका हुन् ।
दुबईमा होटल म्यानेजमेन्ट पढेकी यहाँकी किरण निरौला पनि काम गर्न अवसर पाएर उतै जान हतारिएकी छन् । ‘हातमा भिसा आइसकेको छ,’ उनले भनिन्, ‘खोप लगाउन नपाउँदा जान पाउने कि नपाउने अनिश्चित छ ।’ संयुक्त अरब इमिरेट्स ९यूएई०, कतार र साउदी अरबले खोप नलगाएका कामदारलाई प्रवेश निषेध गरेको छ ।
रूपन्देहीको बुटवल–१२ ढवाहाका २८ वर्षीय विनोद दर्नालसँग कतारको भिसा छ । तीन वर्ष मलेसिया बसेका उनी कम्पनी बन्द भएपछि फर्किएका हुन् । अहिले कतार जाने तयारीमा थिए । ‘हातमा भिसा छ तर खोप नलगाई जान पाइँदैन भनेर रोकिदिए,’ उनले भने, ‘खोप नपाएर श्रम स्वीकृतिसमेत लिन पाइएन ।’ विदेशमा मजदुरी गर्नेको रेमिट्यान्सले खर्च चले पनि राज्यले बेवास्ता गर्दा नागरिक हुँजस्तो भान नभएको उनले गुनासो गरे ।
सैनामैना–७ रामापुरका कृष्णप्रसाद घिमिरे नौ वर्षदेखि जापानमा थिए । बिदामा घर आएका बेला निषेधाज्ञामा परे । गत वैशाख २८ गतेका लागि काटेको टिकटमा उड्न पाएनन् । उनी संक्रमित भए । ‘खोप लगाएर बस्न पाएको भए कोरोना लाग्दैनथ्यो होला,’ उनले भने । बिदामा आउँदासमेत खोप नपाएर असुरक्षित भएपछि भिसा क्यान्सिल गरेर बस्नुपरेको उनको गुनासो छ । संक्रमित भएकाले खोप नलगाई जान नपाइने भएकाले पर्खाइमा रहेको उनले बताए । तिलोत्तमा–६ का अमृत क्षत्री खोप लगाउन नपाएर पीडित छन् । विदेशबाट सबै कागजपत्र आए पनि खोपको कार्ड नहुँदा जान नपाएको उनले बताए । उनले भने, ‘खोपलाई अनिवार्य बनाएकाले जान पाइएन ।’
स्थानीय प्रशासन भने विदेश जाने पर्खाइमा बसेकाहरूबारे बेखबर छ । संघीय सरकारबाट वैदेशिक रोजगारीमा जानेको तथ्यांक संकलन गर्न निर्देशन आएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘कति जना जाँदै हुनुहुन्छ भन्ने यकिन तथ्यांक निकालीहाल्न सक्दैनौं,’ उनले भने, ‘प्रशासनमा निवेदन दर्ता गर्न सुझाएका छौं, सोहीअनुसार खोप माग गर्न सहज हुन्छ ।’ स्वास्थ्य मन्त्रालयबाट निर्णय भएर खोप नआउन्जेल आफूहरूले केही गर्न नसक्ने भन्दै उनले यहाँ दर्ता भएका, जानकारीमा आएका मानिसको संख्या टिपाएर खोप आउनेबित्तिकै उनीहरूलाई लगाइदिने बताए ।
पाल्पाको रामपुर–५ भम्बकका कुलबहादुर खत्री दुबईबाट घर आएको पाँच महिना भयो । कोरोनाविरुद्धको खोप लगाउन नपाएर काममा फर्किन पाएका छैनन् । खोपको खोजीमा काठमाडौं, पोखरा, पाल्पाका धेरै ठाउँ दौडधुप गरेको उनले सुनाए । ‘कम्पनीले खोप लगाएर आउन भनेको छ तर जहाँसुकै धाउँदा पनि खोप लगाउन पाइएन,’ उनले भने । पूर्वखोला–२ जल्पा लाभेका टंकनाथ खनाल दुबई जानुपर्ने एक महिनाअघि नै हो । अहिलेसम्म उड्न पाएका छैनन् । कम्पनीले खोप लगाएपछि मात्र आउन भनेकाले उनलाई विदेश जान समस्या भएको हो । ‘खोपका लागि धेरैपटक प्रयास गरियो तर पाइएको छैन,’ उनले भने ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।