काठमाडाै । उपत्यकामा निषेधाज्ञा थप एक साताका लागि थप हुने भएको छ । यसका लागि आइतबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ ।
यसअघि २१ असार बेलुकासम्मका लागि निषेधाज्ञा थप भएको थियो । मंगलबारदेखि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुन लागेको हो ।
पछिल्लो एक सातामा उपत्यकामा कोरोना संक्रमणको अवस्था स्थिर छ । दैनिक करिब चार सयको संख्यामा नयाँ संक्रमित थपिएका छन् । गत सातादेखि सार्वजनिक यातायात समेत सञ्चालन भएको र भिडभाड बढेकाले संक्रमण बढ्ने चिन्ता व्यक्त भइरहेको छ ।
यातायात व्यवसायीले भने सबै प्रकारका सार्वजनिक यातायात सञ्चालन गर्न र जोर–बिजोर प्रणाली हटाउन दबाब दिइरहेका छन् ।
स्वास्थ्य मन्त्रालयसँगको सल्लाहमा निषेधाज्ञाको मोडालिटीबारे छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए । उपत्यकामा सक्रिय संक्रमितको संख्या अझै ८ हजार रहेको छ ।