Logo
Logo

‘ओलीले राजीनामा दिनै नमिल्ने हो ?’


दृष्टि संवाददाता

2.7k
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपानेले ‌प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्ताको स्वाद बसेकाले पद छाड्न नसकेको बताएका छन् ।

प्रतिनिधि सभा विघटन मुद्दामा आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा न्यौपानेले प्रधानमन्त्री ओलीले राजीनामा दिन नपर्ने हो भन्दै प्रश्न पनि उठाए । उनले प्रधानमन्त्रीले राजीनामा दिएर मात्र बाँकी प्रक्रिया अगाडि बढाउनुपर्नेमा आफू पदमा रहँदा रहँदै अर्को सरकार बनाउन भन्दै राष्ट्रपतिलाई आह्वान गर्न लगाएको टिप्पणी गरे।

‘७६ (५) मा जान प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नु भयो कि अवरुद्ध गर्नु भयो ? पत्रकार सम्मेलन गरेर दाबी गर्दिनँ, बहुमत छैन, चलाउन मन छैन भन्ने अनि अरु भन्दा अघि आफैं जाने ? यो मार्ग अवरुद्ध हो । केपी ओलीमा सत्ताको स्वाद बस्यो अनि उहाँले छोड्न सक्नु भएन। हालसम्म उहाँले राजीनामा गर्नु भएको कुनै पनि धारामा सुनिएन। उहाँले चाहिँ राजीनामा दिनै नपर्ने हो ?’

सभामुखका तर्फबाट बहस गर्ने कानुन व्यवसायीका लागि एक घण्टाको समय छुट्याइएको छ । त्यसपछि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। त्यसका लागि तीन घण्टाको समय तोकिएको छ। अनि अदालतका सहयोगीको पालो आउनेछ। त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ। सोमबार सम्पूर्ण बहस सकिनेछ।

उक्त विवादमा ३० रिट निवेदन परेका थिए। गत जेठ ८ गते मन्त्रिपरिषद्का सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको सोही दिनको निर्णय बदर गरेर असंवैधानिक र गैरकानुनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्