Logo
Logo

कोरोनाको जोखिममा बालबालिका, सरकारको पूर्वतयारी भने सुस्त


दृष्टि संवाददाता

252
Shares


काठमाडौं । कोरोना संक्रमणले बालबालिकालाई प्रभावित बनाउने क्रम बढिरहेको छ  । तर, उनीहरूलाई संक्रमणबाट जोगाउने र क्षति कम गर्ने सम्बन्धमा सरकारको पूर्वतयारी भने सुस्त छ  । कोरोनाको पहिलो लहरमा वृद्धवृद्धा र दोस्रो लहरमा युवाहरू बढी संक्रमित बनेका छन् ।

तेस्रो लहरको संक्रमण बालबालिकाकेन्द्रित हुने विज्ञहरूको भनाइ छ  । संसारभर नै १८ वर्षमुनिका बालबालिकामा कोरोनाविरुद्धको खोप लगाइएको छैन । त्यसकारण पनि तेस्रो लहरले बालबालिकालाई बढी प्रभावित बनाउने विज्ञहरूले बताएका छन्  ।

नेपालमा त्यसै पनि बालरोग विशेषज्ञको संख्या अत्यन्त न्यून छ । त्यसमाथि अस्पतालहरूमा एनआइसियू, पिआइसियू र भेन्टिलेटरलगायतका उपकरण पनि पर्याप्त छैनन् । स्वास्थ्य मन्त्रालयसँग त बालरोग विशेषज्ञ र बालबालिकाको उपचारमा आवश्यक पर्ने एनआइसियू, पिआइसियू, भेन्टिलेटरलगायतका उपकरणहरू कति छन् भन्ने यकिन तथ्यांकसमेत छैन ।

१८ वर्षमाथि उमेर समूहले प्रयोग गर्ने आइसियू÷भेन्टिलेटर बालबालिकाका लागि प्रयोग गर्न मिल्दैन । नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार देशभर एमबिबिएस गरेका २४ हजार आठ सय १४ चिकित्सक छन् । तीमध्ये विशेषज्ञता हासिल गरेका चिकित्सकको संख्या सात हजार ६ सय ९१ छन् । बालरोग विशेषज्ञको संख्या भने करिब साढे तीन सयको हाराहारीमा मात्रै छ ।

‘नेपाल पेडियाट्रिक सोसाइटीमा पुगनपुग तीन सय चिकित्सक दर्ता छन् । करिब ५० जनाको संख्या संस्थामा आबद्ध नभएका चिकित्सक होलान्,’ सोसाइटीका अध्यक्ष डा। गणेश राईले भने । सोसाइटीका अनुसार देशभरका अस्पतालमा करिब एक सय ४० एनआइसियू, एक सय ५० पिआइसियू र ५० वटाजति भेन्टिलेटर छन् । तर, उपचार गर्ने चिकित्सक बढीमा तीन सय ५० जना छन् ।

२५ भन्दा धेरै बेड भएको अस्पतालमा अनिवार्य बच्चाको डाक्टर हुनुपर्ने सरकारी व्यवस्था छ । देशभर २८ वटा यस्ता अस्पताल छन् । तर, अधिकांशमा बच्चाको डाक्टर छैनन् । विश्व स्वास्थ्य संगठनले १८ वर्षमुनिकालाई बालबालिकाको सूचीमा राख्ने गरेको छ । नेपालमा १८ वर्षमुनिका ८२ लाख ४३ हजार दुई ३७ बालबालिका छन् ।

कान्ति बाल अस्पतालका निर्देशक डा। आरपी बिच्छाका अनुसार बालबालिकाको उपचारमा प्रयोग हुने आइसियू दुई किसिमका हुन्छन्, पिआइसियू र एनआइसियू । एनआइसियूमा २८ दिनमुनिको शिशुको उपचार गरिन्छ । २८ दिनभन्दा माथिका बालबालिकाको उपचार गर्न पिआइसियूको प्रयोग गरिन्छ । त्यस्तै, बालबालिकाको शल्यक्रिया गरिएपछि एसआइसियूमा राखिन्छ ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्