Logo
Logo

ओली-नेपाल भेटवार्ताको तयारी


दृष्टि संवाददाता

2.6k
Shares

काठमाडौं । एमालेको कार्यदलले सहमतिको मस्यौदा बनाउने र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराएर पार्टी विवाद समाधानको प्रयास सुरु गरेको छ । कार्यदल ब्युँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै वार्ता गर्ने नेपालको सर्त ओलीले स्वीकार गरेपछि कार्यदलले औपचारिक गृहकार्य थालेको हो । संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सकिएर फैसलाको पर्खाइ भएकै वेला एमालेमा सहमतिको नयाँ अध्याय सुरु भएको हो ।

आइतबार दोस्रो तहका नेताहरूले ओली र नेपाललाई भेट गराएर सहमति जुटेका विषयमा संयुक्त विज्ञप्ति निकाल्ने कोसिस गरेका थिए । तर, नेपालले कार्यदल ब्युँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै वार्ता गर्ने अडान राखेपछि ओली–नेपाल भेट र संयुक्त विज्ञप्तिको प्रयास असफल भएको थियो । यद्यपि, त्यसपछि पनि कार्यदल सदस्यहरू भने अनौपचारिक संवादमा थिए ।

त्यसैअनुसार ओली र नेपालपक्षीय नेता भीम रावलबीच आइतबार राति बालुवाटारमा वार्ता भएको थियो । सोही वार्तामा ओली कार्यदल ब्युँताउन तयारका थिए । कार्यदल ब्युँताएर र सहमतिको मस्यौदा बनाउन जिम्मा दिन ओली तयार भएलगत्तै सोमबार कार्यदलको बैठक बसेको थियो ।

बैठकमा सहमतिको मस्यौदा कोर्ने र तुरुन्तै ओली–नेपाल भेटवार्ता गराउने गृहकार्य सुरु भएको सदस्यहरूले बताएका छन् । ‘हामीले आफ्नोतर्फबाट केही काम गरेका छौँ, छिट्टै नै ओली–नेपालबीच भेटवार्ता होला,’ कार्यदलका एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘कार्यदलले काम थालेपछि एउटा आधार र विश्वास तयार भएको छ ।’

अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालको निर्देशनअनुसार सहमतिको मस्यौदालाई अन्तिम रूप दिने उद्देश्यले डेढ महिनादेखि निष्क्रिय दश सदस्यीय कार्यदल ब्युँताएर सोमबारबाट सक्रिय बनाइएको छ । यससँगै पार्टी संस्थापनबाट कारबाहीमा परेका उपाध्यक्ष भीमबहादुर रावलले वरिष्ठ नेता नेपाल पक्षबाट सहमतिको मस्यौदालाई अन्तिम रूप दिने कामको नेतृत्व सम्हालेका छन् । रावलको प्रवेशसँगै दुवैतर्फका दोस्रो तहका नेताहरूले अनौपचारिक छलफलबाट तयार पारेको तीनबुँदे सहमतिको मस्यौदालाई अन्तिम रूप दिने गरी छलफल अगाडि बढेको कार्यदलको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।

सोमबारको बैठकमा यसबीचमा दोस्रो तहका नेताहरूबीच अनौपचारिक तहमा भएका समझदारीबारे रिपोर्टिङ भएको र मंगलबार टुंग्याउन बाँकी विषयमा समझदारी जुटाउन छलफल केन्द्रित हुने उनीहरूको भनाइ छ । ‘कार्यदलमा विभिन्न चरणमा भएका अनौपचारिक बैठकका प्रगतिलाई रिपोर्टिङ गर्ने काम भएको छ, मंगलबार सहमति हुन बाँकी रहेका एकाध विषयमा विषयगत ढंगले छलफल गर्ने समझदारीसहित अत्यन्त सकारात्मक र हार्दिकतापूर्वक संवाद गरेर आज बैठक स्थगन गरिएको छ,’ बैठकपछि नेपाल पक्षबाट कार्यदलमा रहेका गोकर्ण विष्टले भने ।

अहिलेसम्म पार्टीलाई २ जेठ ०७५ सम्मको सांगठनिक संरचनाबाट अगाडि बढाउने, सर्वोच्च अदालतमा दायर रिटका फैसलालाई मानेर जाने विषयमा समझदारी जुटेको उनीहरूले दाबी गर्दै आएका छन् । रिटमा नेपाल पक्षबाट भएको हस्ताक्षरको विषय टुंग्याउने सन्दर्भमा सर्वोच्चले जे फैसला गर्छ, त्यसलाई दुवै पक्षले मान्ने र त्यसपछि पार्टीको संस्थागत निर्णयलाई आधार मानेर अगाडि बढ्नेलगायतका विकल्पमा उनीहरूबीच छलफल हुँदै आएको छ ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्