काठमाडौं । कोपा अमेरिका २०२१ को फाइनलमा साविक विजेता ब्राजिल पुगेको छ । मंगलबार विहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा पेरूलाई १-० गोलले पराजित गर्दै ब्राजिल उपाधि नजिक पुग्न सफल भएको हो ।
ब्राजिलको जितमा लुकास पाक्युटा नायक सावित भए । उनले गरेको एक मात्र गोलको मद्दतमा आयोजक ब्राजिल लगातार दोस्रो पटक कोपा अमेरिकाको फाइनलमा पुग्न सफल भयो ।
खेलको ३५ मिनेटमा गोल गर्दै पाक्युटाले ब्राजिललाई अग्रता दिलाएका थिए । नेइमारले उपलब्ध गराएको पासमा उनले पेनाल्टी बक्सबाट गोल गरेका थिए ।
अब उपाधिका लागि ब्राजिलले अर्जेन्टिना वा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ । कोलम्बिया र अर्जेन्टिनाबीचको दोस्रो सेमिफाइनल बुधबार विहान हुनेछ ।