काठमाडौं । देशमा हाल मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार हाल प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।
महाशाखाका अनुसार मंगलबार दिउँसो कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको दैनिक बुलेटिनमा भनिएको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश १ का एक दुई स्थानमा चाहिँ मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ ।