काठमाडौं । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञा प्रतिष्ठानका उपकुलपतिसहित चार जना पदाधिकारीलाई बर्खास्त गर्न प्राध्यापक डाक्टर गोविन्द केसीले माग गरेका छन् ।
डाक्टर केसीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उपकुलपति ज्ञानेन्द्र गिरीलगायत रेक्टर, रजिस्ट्रार र अस्पताल निर्देशकले प्रतिष्ठानलाई धरासायी बनाएको भन्दै तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।
”अवस्था यतिसम्म भइसकेपछि बीपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरुले थप एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेका छन् । त्यसैले उनीहरुले तत्काल पद खाली गर्नुपर्छ ।” डा. केसी विज्ञप्तिमा भनेका छन् ।
दलीय भागबण्डाका आधारमा नियुक्त भएका शीर्ष पदाधिकारीहरुले प्रतिष्ठानमा राजनीतिक दलको कार्यकर्ता भएर काम गरेको उल्लेख गर्दै डाक्टर केसीले पदाधिकारी मापदण्ड निर्धारण समितिले सुझाव दिए अनुसार वरिष्ठता, इमान्दारी र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गरिनुपर्ने मागसमेत गरेका छन् ।