काठमाडौं । नेपाल प्रहरीको एआइजी भन्दा डिआइजी बढुवामा ठूलो टकराव देखिएको छ । दुई पदको बढुवामा १४ जना एसएसपीहरू शक्तिकेन्द्र पुगेपछि तत्काल बढुवा प्रक्रिया अघि बढ्न नसक्ने अवस्था देखिएको हो ।
सहकुल थापा एआइजीमा बढुवा भएपछि डिआइजीको एक पद रिक्त भएको छ । प्राविधिकतर्फ डिआइजीको एक पद एक वर्षदेखि खाली छ । त्यसलाई प्रशासनतर्फ ल्याएर दुई पदमा बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ । तर, एसएसपीहरुको चर्काे लबिङका कारण दरबन्दी थप गरेर मात्र बढुवा गर्न सकिने अवस्था सिर्जना भएको छ ।
बरिष्ठताअनुसार बढुवा भएमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याचीहरु बढुवा हुनुपर्ने हो । तर, १०८ र ११० टोलीका एसएसपीहरु शक्तिशाली छन् ।
एसएसपीहरु सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दिपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेक बहादुर तामाङ, बसन्तबहादुर कुँवर, भिमप्रसाद ढकाल मुख्य प्रतिस्पर्धामा छन् । पछि बढुवा भएका काठमाडौं परिसरका एसएसपी अशोक सिंहले पनि बढुवामा दाबी गरेको स्रोत बताउँछ । अबको करिब २० महिनापछि यही टोलीबाट प्रहरी नेतृत्व छनोट हुने भएकाले अहिले बढुवामा तिव्र टकराव देखिएको छ । सबै जसो एसएसपीको शक्तिकेन्द्रसँग निकटता भएकाले उनीहरु लबिङ गरिरहेका छन् । जसकारण ३÷४ वटा दरबन्दी थपेर मात्र बढुवा गर्ने विकल्पबारे छलफल सुरु भएको प्रहरी स्रोत बताउँछ ।
प्रहरीमा असारभित्रै बढुवा नगरे फेरि कात्तिकमा मात्र बढुवा गर्न मिल्ने कानूनी प्रावधान छ । कात्तिकसम्म कार्यसम्पादन मूल्याङकनको समय हुने भएकाले बढुवा पछि धकेलिने छ । जसले गर्दा एसएसपी, एसपी, तथा डिएसपीमा बढुवा गर्न नभ्याउने जोखिम बढेको छ । सइबाट इन्सपेक्टरको बढुवा समेत महिनौंदेखि रोकिएको छ । हरेक बढुवामा अत्याधिक चलखेल हुँदा प्रहरीमा यस्तो अवस्था आएको हो ।