काठमाडौं । केही दिनयता नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल राई चर्चामा छन् । त्यसो त उनी सधैँ चर्चामै हुन्छन् । गीत संगीतसँगै ‘बिहेका कुरा’ले चर्चामा आइरहने यसपटक भने राजेशपायलको ‘भावनात्मक सहयोगी’ भन्दै चर्चा गरिएको छ ।
सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’बाट बाहिरिएकी मेलिना मैनालीलाई गीतको अफर दिएपछि उनलाई अनुदार भनिएको हो । तर, उक्त गीतले राजेशपायललाई ‘भावनात्मक सहयोगी’मात्र बनाएन, अन्तर्राष्ट्रिय रुपमा चर्चामा समेत ल्याएको छ ।
मेगास्टार राजेशपायल र नवोदित गायिका मेलिना मैनालीले गाएको ‘चोरी भो’ बोलको गीत २४ घण्टा नबित्दै नेपालका अलावा साउदी, कतार र ओमनका समेत यु–ट्युब ट्रेण्डिङमा परेको छ ।
यो समाचार तयार पारिरहँदा यस गीतले १ लाख ५२ हजार बढी श्रोता तथा दर्शक पाइरसकेको छ भने नेपालको यु–ट्युब ट्रेण्डिङमा २३ नम्बरमा छ ।
मेगास्टार राजेशपायलकै अफिसियल यु–ट्युब च्यानल ‘राजेशपायल राई’मा स्टुडियो भिडियो मात्र अपलोड गरिएको गीतले यति छोटो समयमै यतिका श्रोता÷दर्शक पाउनु नेपाली गीतसंगीत क्षेत्रका लागि नै खुसीको कुरा हो । यो गीत बुधबार साँझ ५ बजे अपलोड गरिएको हो ।
मेगास्टार राजेशपायलले भने, ‘यो आमनेपाली संगीतकर्मीका लागि खुसीको कुरा हो किनकि, यो गीत नेपालमा मात्र नभएर विदेशमा समेत ट्रेण्डिङमा आएको छ ।’
‘द भ्याइस अफ नेपाल’मा सहभागी जनाइरहँदा मेलिनाको गायन प्रतिभा देखेर आफूले उनलाई मौका दिएको राजेशपायलको भनाइ छ । उनले भने, ‘प्रतिभा भएकाहरुलाई अवसर दिनुपर्छ भन्ने मेरो धारणा हो ।’
राजेशपायल जस्ता भर्सटायल गायकको साथ पाएपछि मेलिना मैनाली पनि दंग छिन् । रियालिटी शोमा टाइटल उपाधि हात नपारेपनि अब यस गीतसँगै उनको सांगीतिक करिअर अगाडि बढ्ने धेरैले आँकलन गर्न थालेका छन् ।