काठमाडौं । नेकपा एमालेको विवदा समाधान कार्यदलको बैठक आज पनि बस्दैछ । नेता सुवास नेम्वाङका अनुसार अर्थ मन्त्रालयमा आज बिहान साढे ११ बजे बैठक बस्ने तय भएको हो ।
नेकपा एमाले भित्रको विवाद समाधान गर्न गठन भएको कार्यदलको प्रगति विगत १० दिन देखि शून्य रहेका बेला फेरि बैठक बस्न लागेको छ ।
बिहीबार बिहान बसेको बैठकपछि बाहिरिने क्रममा वार्तामा रहेका नेताहरुले बेलुका सहमति हुने भनेर पत्रकारहरुलाई सकारात्मक संदेश दिए पनि औपचारिक रुपमा नबसी बैठक स्थगित भएको थियो । नेता घनश्याम भुसालले १० दिन यता कुनै प्रगति नभएको बताएका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहिबार दोस्रो पटक बसेको बैठकमा प्रधानमन्त्री ओली पक्षका वार्ता सदस्य अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित भएपछि विषय प्रवेश नै नगरी दुवै पक्षका नेताहरु बाहिरिएका थिए ।
बाहिरिने क्रममा नेता भुसालले भने, ‘हामी करिब १० दिनअघि जुन अवस्थामा थियौँ अहिले पनि त्यहि अवस्थामा छौँ। खास प्रगति गरेका छैनौँ।’ यता वार्ता समितिका अर्का सदस्य नेम्वाङले आज बिहान बस्ने बैठकले सहमतिसहित निष्कर्ष दिने दावी गरेका छन् ।