काठमाडौं । नेपाल प्रहरीको सहायक निरीक्षक(असइ) पदको लिखित परीक्षामा समाबेशी कोटा अन्र्तगत माग भन्दा थोरै मात्र उत्तिर्ण भएका छन् । महिला, मधेसी, दलित र अमर/अशक्त प्रहरी परिवारको लागि छुट्याइएको कोटामा माग भन्दा कम उत्तिर्ण भएका हुन् ।
बिहीबार सार्वजनिक गरिएको लिखित परीक्षाको नतिजाअनुसार ४१ पदमा माग भन्दा कम उत्तिर्ण भएका छन् । महिलाको लगि ५१ पद आरक्षण रहेकोमा ४२ जना मात्र लिखित परीक्षामा उत्तिर्ण भएका छन् । त्यस्तै, मधेसीका लागि आरक्षण गरिएको ७२ कोटामा ५३ जना, दलिततर्फको ३९ पदमा ३४ जना र अमर÷असक्त प्रहरी परिवारको १२ जनाको कोटामा चार जना मात्र उत्तिर्ण भएका हुन् । समावेशी कोटामा मागभन्दा कम भर्ना भएको पद खुलातर्फ जोडेर भर्ना प्रक्रिया अघि बढाइएको छ ।
असइका लागि पाँच सय ८४ पदमा भर्नाका लागि लिखित परीक्षा लिएको थियो । परीक्षा लोक सेवा आयोगले सञ्चालन गरेको थियो । प्रहरी भर्नाको परीक्षा पूर्ण रुपमा लोक सेवा आयोगले लिन थालेपछि कतिपय पदमा माग भन्दा कम उत्तिर्ण हुने गरेका छन् । लोक सेवा आयोगले बनाएको पाठ्यक्रम कठिन भएको भन्दै विगतमा पटक पटक संशोधन समेत गरिएको थियो ।