मैले सपना देख्न पाउनु पर्छ
भन्दाभन्दै गजबको सपना देखे
पागल कुकुरले नटोकीकनै
म त पागल भइसकेछु
देवकोटा कल्पनाले पागल बनेथे
त्यसैले उनको गणितमा
एकबाट एक झिक्दा एक बाँकी रहेथ्यो
म सपना देख्दादेख्दै पागल बनेकोले
मेरो गणितमा सदस्य सङ्ख्या घट्दा
झन् अरूको भन्दा मेरो पो बढेको देखिन्छ
सपनामा देख्छु म मात्र ठिक
मट्टारे जुवाको कौडा हान्दा
जहाँबाट जसरी हाने पनि चौका पर्ने
मेरा मुसदण्डहरूको गगनभेदी आवाज
गुन्जिन्छ– मार्रा, मार्रा भनेर
मुर्दा शान्ति भएको बेला
रेफ्रीको निर्णय हुन्छ– चौका नै हो
मौकामा चौका नहान्ने मैले ?
त्यसैले मैले जे गरे पनि ठिक
मेरो बेठिकलाई समर्थनगर्नेहरु ठिक
तिनको मात्र भाग्य चम्किन्छ, चम्किरहेको छ आकाशको तारा जस्तो
लाप्चे मार्का विद्वान बन्छन्
दूत बनेर देशान्तर पुग्छन्
सुर्य दायाँ हुन्छ
बायाँ परेका जति सब बेठिक
गजबको सपना देखेँ मैले
अश्वत्थामाको जस्तो श्रीपेच लगाएर
म नवौँ चिरञ्जीवी भएको
मुलुकलाई बन्धक राखेर
मध्यरातमा सामन्तले टिकाएपछि
मैले उसलाई कर बुझाउनु पर्दैन ?
सामन्त भनेको शक्तिशाली राजा
म उसको रजौटो बनेपछि
उसको मान्छेहरूलाई नागरिक बनाएर होस्
पहाडको हाड फुटाएर गुदी दिएर होस्
के हो त्यो चुरे म सत्तामा टिक्नको लागि ?
यो राजनीतिको नियम हो
देश पर्छ यसैभित्र
हो, पर्नु पर्दछ मेरो लागि
जब मैले सपना देखेको छु
सपनामा बरबराई रहेको कुरा
जादुगर्नीले पो सुनाउछे मलाई
म भन्छु–
देश भनेको नै म हुँ
म छैन भने देश रहँदैन
जनताले दुःख पाउनु
त्यो उनीहरूको नियति हो
विश्वमा जनताले कहाँ दुःख पाएका छैनन् र ?
इतिहास साक्षी छ
हरेक युद्ध जनताको लागि भनेर भएको छ
हरेक युद्धमा जनताले दुःख पाएका छन्
शासकको लहडमा युद्ध भएको छ
उसको अप्सरा प्राप्त गर्ने चाहानामा युद्ध भएको छ
क्लियोप्याट्राको लागि सिजरले मिश्र पुगेर लडेको होइन ?
लाखौं लाख सेना उसको त्यो आनन्दको लागि मरे
देशको लागि भनेर
थप जमिन उपभोग गर्न पाउनु
जर्मन जनताको हक भनेर
सातौँ आसमानमा पुराइयो
करोडौं गरिब जनतालाई
तर ती अन्ततः
युद्ध मेसिनमा बाल्ने दाउरा बने
सपनामा म देख्छु
म मात्र सत्तामा रहनु पर्छ
मैले बोलेपछि हुकुम बन्छ
हो, गणतन्त्रमा हुकुम हुँदैन
त्यसैले त्यो कानुनसम्मत बन्छ
मुलुकको नीतिगत निर्णय बन्छ
जति प्रकोप बढ्यो
त्यति भ्रष्टाचार गर्न पाइन्छ
नपत्याए प्रत्येक प्रकोपलाई सोध
भुईँचालोलाई सोध
कोरोना भाइरसलाई सोध
स्विस अकाउन्ट बढेको छ
भ्रष्टाचार म बाट नै सुरु हुने हो
द्रव्य–राजनीतिक मुटु दह्रो बनाउन
हो, राज्य गर्न तर सुनाउनै पर्छ मैले
म आफू भ्रष्टाचार गर्दिन
र, अरूलाई पनि गर्न दिन्न भनेर
जनता एउटा बस्तु हो
कहिले सातौँ आसमानमा उचाल्नु पर्छ
कहिले जमिनमा थचार्नु पर्छ
सत्ता परिवर्तन गर्दा
बोका सरह यिनैलाई बली चढाउनु पर्छ
नपत्याए फ्रान्सेली क्रान्तिलाई सोधे हुन्छ
स्वतन्त्रता, समानता र बन्धुत्वको
युगान्तकारी परिवर्तनको लागि लडेकाहरूले
तानासाह त फाले
तर अन्तरालमा केवल अर्को तानासाह ल्याए
अन्तले गराइदिएको
यहाँको जनयुद्ध हेरौँ
नयाँ नेपालको विकास र समृद्धिको लागि भनेर
भएको फाले जनताको नाममा
जनतालाई त्यतिवेला थाह नै छैन
अन्तले मुलुकको अस्मिता लुटे
सयौं नयाँ राजाहरू जन्मे
लुटको खीर खाइरहेका छन्
र, तिनका हुक्के बैठक सम्मले
नाचगानको सपना रुपान्तरण–
नाचन झिल्के नाचन, पैसा दिनलाई पाचाना
के दशा भएको छ मुलुकको अहिले
शासकहरूको स्विस अकाउन्ट बढ्दो छ
हाकाहाकी भन्छन्– कहाँ बढेको छैन र ?
तर जनतालाई सुनाउन भन्छन् –
एक पैसा देखाउन सके झुन्ड्याउनु
जर्मन जनताको लागि भनेर युद्ध हुँदा
नाजी नेताहरूको स्विस अकाउन्ट
साउने खोला भेल जसरी
सबैतिर सखाप पार्दै उर्लेको थियो
तर ती भन्दै थिए– प्रत्येक थोपा मुलुकभित्र ल्याइएको छ
त्यसैले जहाँ म छु
त्यहाँको प्रत्येक भ्रष्टाचारलाई
कसले भन्छ भ्रष्टाचार ?
सबका सब कानुनसम्मत छन्
मलाई कसले नव सामन्त भन्ने ?
म त इतिहासले तोकेको सर्वहारा
अल्लारे बेलाको, अभावभित्रको अभाव
न्यून चेतना, अविकासको शिक्षा
रोम्यान्टिसिजमले हाँकेर मलाई
सर्वहाराको योद्धा बनाइसकेको छ
म टिक्नको लागि गरिने काम
सबका सब संवैधानिक
बाँकी सब असंवैधानिक
मेरो विरोध गर्ने जति छन्
सब लाज सरम पचेका हुन्
पुच्छर हुन, दक्षिणपन्थी हुन्
सेटिङ मिलाएका बा सेटिङका हुन्
मुलुक लुट्ने लुटाउने काम
त्यो अग्रगमनको राजनीति
त्यहाँ मात्र जनताको हकहितको ग्यारेन्टी हुन्छ
जब सत्तामा मेरो ग्यारेन्टी हुन्छ
म सत्तामा नहुनु भनेको
मुलुक डुब्नु हो, उपलब्धि गुम्नु हो
खुसीले म सत्तामा बसेको होइन
जनताको चाहनाले मात्र हो
अझ भन्नुपर्दा –
मुलुक बचाउने बाध्यताले मात्र हो
म सत्तामा नहुनु भन्नु नै
मुलुक सकिनु हो
सत्तामा टिक्नु पर्ने
मेरो रहर होइन
बुझुन् सबैले– यो बाध्यता हो
अब त राती मात्र होइन
दिउँसै सपना देखिरहेको,
म त पागल भएको छु ।