काठमाडौं । नेकपा एमाले ओली पक्ष राष्ट्रिय युवा संघ नेपालको शनिबार हुने भनिएको प्रदर्शन रोकिएको छ । शनिबार ३ बजे मार्चपास गर्ने कार्यक्रम अचानक स्थगित भएको हो ।
एमाले विवाद सहमति नजिक पुगेका अवस्थामा राष्ट्रिय युवा संघले चुनावको पक्षमा र माधव पक्षविरुद्ध सडकमा प्रदर्शन गर्ने तयारी गरिएको थियो । तर, एमाले मिलाउन बनेको कार्यदलले प्रदर्शन नगर्न भनेपछि स्थगित गरिएको जनाइएको छ ।
नयाँ बानेश्वरदेखि माइतीघरसम्म मार्चपास गर्ने कार्यक्रम नेता महेश बस्नेतको निर्देशनपछि स्थगित भएको हो । एमाले एकताको लागि गठित कार्यदलले सहमतिको मस्यौदा तयार पारेको छ । शनिबारै साँझसम्म शीर्ष नेताहरूबीच छलफलपछि एमाले एक रहेको सन्देश दिने तयारी भइरहेकाले सडकमा प्रदर्शन नगर्न कार्यदलका नेताहरूले निर्देशन दिएको बताइएको छ । युवा संघको मार्चपास अब आइतबार हुने बताइएको छ ।