काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्नेगरी सहमति नहुने भन्दै एकताका लागि कार्यदलले तयार पारेको मस्यौदा फिर्ता पठाएका छन् । मस्यौदामा अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै फिर्ता पठाइएको हो ।
शनिबार कार्यदलले तयार पारेको मस्यौदामाथि सहमति जुटाउन नेपाल पक्षका कार्यदल सदस्यहरु आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेका थिए । नेता नेपालले मस्यौदामा रहेको एक शब्दावलीमा असहमति जनाएपछि उनीहरु सिंहदरबार फर्किएका छन् । अहिले सिंहदरबारमा कार्यदलको बैठक बसिरहेको छ ।
नेपाल तर्फका कार्यदल सदस्यहरु कोटेश्वरबाट फर्किएपछि सिंहदरबारमा कार्यदलको बैठक सुरु भएको हो । कार्यदलका सदस्यहरुले आजै सहमतिको सम्भावना रहेको बताएका छन् । तर, नेता नेपालले सर्वोच्च अदालतको मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिएर सहमति नहुने बताए । उनले भने, ‘हस्ताक्षर फिर्ता हुँदैन, यो मेरो बटमलाइन हो ।’