Logo
Logo

आजदेखि जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप लगाइने, यी उमेर समूहकाले पाउने (सूचीसहित)


दृष्टि संवाददाता

2.6k
Shares

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियान पुनः आजदेखि सञ्चालन हुँदैछ । खोप अभियान अन्तर्गत आज (मंगलवार)देखि प्राथमिकताका आधारमा खोप लगाइने भएको हो ।

चीन र अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको खोप प्राथमिकताका आधारमा सार्वजनिक यातायातका चालक/सहचालक, विश्वविद्यालयका प्राध्यापक, शिक्षक र विदेशी शरणार्थीसहित ५० देखि ६० वर्ष उमेर समूहका नागरिकलाई लगाउन शुरू गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

५५ देखि ६० वर्षसम्मको उमेर समूहलाई चिनियाँ ‘भेरोसेल’ खोप लगाइने भएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । यस्तै खोप लगाउन छुटेका ६० देखि ६४ वर्ष उमेर समूह र विश्वविद्यालयका प्रध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक/सहचालकलाई पनि यो खोप लगाउन लागिएको हो ।

मन्त्रालयका अनुसार प्राथमिकतामा परेर पनि पहिले लगाउन बाँकी स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारले समेत तोकिएका केन्द्रमा पुगेर खोप लगाउन सकिनेछ ।

सोमवार अमेरिकाबाट प्राप्त जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५५ उमेर समूहबाहेक पूर्ण र अति अशक्त/शारीरिक अपांगता भएका व्यक्ति, नेपालमा बसोवास गरिरहेका विदेशी शरणार्थी र स्वास्थ्य क्षेत्रमा आबद्ध कर्मचारीलाई लगाउने निर्णय मन्त्रालयले गरेको हो ।

मन्त्रालयका अनुसार खोप यसअघि तोकिएका केन्द्रबाटै लगाउन लागिएको छ । यसका लागि सरकारबाट जारी भएको उमेर खुल्ने प्रमाणपत्र लिएर जानुपर्नेछ । सरकारले चीनसँग ४० लाख डोज खोप खरीद गरेकोमा शुक्रवार पहिलो चरणमा ८ लाख डोज भेरोसेल र सोमवार कोभ्याक्स सुविधाअन्तर्गत १५ लाख ३४ हजार ८५० जोन्सन एण्ड जोन्सनको खोप नेपाल आइपुगेको हो ।

चीनसँग खरीद गरिएको खोप हरेक साता नेपाल आउने पक्का भएको भन्दै मन्त्रालयका सहप्रवक्ता अधिकारीले थप खोप खरीदका लागि पनि प्रक्रिया अघि बढेको बताए । ‘कोभिशिल्ड खोपका लागि भारतबाहेकको विकल्प खोजिरहेका छौं,’ उनले भने । ‘साथै अन्य देशसँग खोप खरीदका लागि पनि पहल भइरहेको छ ।’

हालसम्म २६ लाख ११ हजारलाई खोपको पहिलो र १० लाख ४१ हजारलाई दोस्रो मात्रा लगाइएको छ । खोप लगाउन पहिचान खुल्ने सरकारी कागजात लिएर खोप केन्द्रमा जान आग्रह गरेको आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्