Logo
Logo

राष्ट्रपतिको ‘भद्दा व्यवहार’


दृष्टि संवाददाता

4.4k
Shares

काठमाडौं । ‘संविधानको धारा उल्लेख नगरी भएको प्रम नियुक्ति र सोही प्रकारको रकमी नियुक्तिपत्रले प्रस्ट गर्छ, विधि मिच्ने काम यहाँ जारी छ । चेतना भया ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले असार २९ गते शेरबहादुर देउवालाई सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री नियुक्त गरेको जनाएपछि डा। देवेन्द्रराज पाण्डेले सामाजिक सञ्जालमा लेखेको अंश हो यो । नियुक्तिपत्र संविधानको धारा उल्लेख नगरी अदालतको आदेशबाट भन्ने मात्र उल्लेख गरेपछि देउवाले नसच्याएसम्म शपथ नलिने अडान लिए ।

शपथ लिन तोकिएको पूर्वनिर्धारित समयभन्दा झन्डै साढे दुई घण्टापछि मात्र राष्ट्रपति भण्डारी नियुक्तिपत्र सच्याउन तयार भइन्। शपथमा सर्वोच्च अदालतको आदेश र संविधानको ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भन्ने बेहोरा राखिएको राष्ट्रपति कार्यालयका सचिवले उच्चारण गरे । नियुक्तिपत्रलाई लिएर राष्ट्रपति भण्डारी र नयाँ प्रधानमन्त्री देउवाबीचको तिक्तता त्यतिमा मात्र सीमित रहेन ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराइन् । तर, मुलुकको राष्ट्राध्यक्ष र सरकार प्रमुखबीच बोलचाल भएन, आँखा पनि जुधेनन् । नयाँ प्रधानमन्त्रीलाई राष्ट्रपतिले बधाई दिने औपचारिकतासम्म पूरा गरिनन् । राष्ट्रपतिले विगतको परम्परालाई निरन्तरता दिँदै उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभा अध्यक्षसँग नयाँ प्रधानमन्त्रीलाई चिनाउने कुरा त झनै टाढाको विषय बन्यो ।

शपथ कार्यक्रममा राष्ट्रपतिको उक्त कार्यले नवनियुक्त प्रधानमन्त्री मात्र होइन, समारोह नै असहजजस्तो बन्यो। राष्ट्रपतिको व्यवहारलाई टेलिभिजन हेर्नदेखि समारोहमा उपस्थित कसैले पनि सहज मानेनन् । तर, राष्ट्रपति र प्रधानमन्त्रीबीचको विवाद त्यतिमा मात्र सीमित नहुने देखिएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशप्रति असन्तुष्ट राष्ट्रपति भण्डारीले शुक्रबार महान्यायाधिवक्ताको शपथ राष्ट्रपति भवनमा गर्न र समारोहमा उपस्थित हुनसमेत अस्वीकार गरिन् । यसले राष्ट्राध्यक्ष र सरकारप्रमुखबीचको सम्बन्ध थप चिसिने भएको छ ।

‘विद्या भण्डारीले आफू मुलुकको राष्ट्रध्यक्ष (राष्ट्रपति) को भूमिकामा रहेको कुरा नै बिर्सेर प्रधानमन्त्री नियुक्ति र शपथदेखि महान्यायाधिवक्ताको शपथमा सारै भद्दा व्यवहार प्रस्तुत गर्नुभयो,’ कांग्रेसका एक नेताले भने, ‘राष्ट्रपतिका रूपमा उहाँको भूमिका देखिएन। यो दुखद र अशोभनीय पक्ष हो।’, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्