काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्यमा श्यामकुमार घिमरेमाथि आक्रमण भएको छ ।
नेपाली कांग्रेसका अनुसार पार्टी केन्द्रीय सदस्यसमेत रहेका घिमिरेमाथि सदस्यता छानबिन स्थलमै पुगेर केही व्यक्तिले आक्रमण गरेको हो । उनीहरु नेपाली कांग्रेसकै कार्यकर्ता रहेको बताइएको छ ।
सांगठनिक काममै खटिएकोबेला कार्यस्थमै आक्रमण भएको भन्दै नेपाली कांग्रेसले निन्दा व्यक्त गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै यसरकी आक्रमणमा उत्रिने व्यक्ति कांग्रेसको अनुशासित कार्यकर्ता हुन नसक्ने बताएका छन् ।
बिज्ञप्तिमा यो घटनालाई पार्टी पदाधिकारीको शुक्रबार बसेको बैठकले गम्भीर रुपमा लिएको उल्लेख गरिएको छ । ‘क्रियाशील सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन सक्दैन । महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।