काठमाडौं । नेकपा एमालेमा फेरि अन्तरविरोध बढेको भन्दै दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन् । शनिबार सिंहदरबारमा बसेको अनौपचारिक बैठकमा उनीहरुबीच गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन तथा पार्टी एकता जोगाउने विषयमा छलफल भएको छ ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवुकमार नेपाल पक्षका नेताहरुबीच २७ असारमा १० बुँदे सहमति भएको थियो । तर, सहमति कार्यान्वयन नहुँदै अध्यक्ष ओली र नेता नेपालबीच अन्तरविरोध बढेको छ ।
शुक्रबार अध्यक्ष ओली पक्षको स्थायी कमिटी र संसदीय दलको बैठकमा नेपाल पक्षका नेताहरु सहभागी भएनन् । स्थायी कमिटी बैठक स्थलमा पुगेर नेपाल पक्षका कार्यदल सदस्यले बैठक रोक्न आग्रह गरेपनि ओलीले मानेनन् । उल्टै बैठकले कार्यदल खारेज गर्ने निर्णय गरेको थियो ।
आफ्नो पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीबाट १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल खारेज गर्ने निर्णय गराएपछि विवाद पुनः बढेको हो । नेकपा एमालेका नेता गोकर्ण विष्टका अनुसार शनिबार भएको अनौपचारिक बैठकमा कार्यदलका सदस्य १० जना नेता र पार्टी सचिव भीम आचार्य सहभागी भएका थिए । सबै नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गरेर एकता जोगाउनुपर्नेमा जोड दिएका थिए ।
बैठकपछि एमाले ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिइएको बताए । उनले दश बुँदे सहमतिलाई स्थायी कमिटीले अनुमोदन गरिसकेको समेत बताए ।
तर, अध्यक्ष ओलीले यसअघि नै नेता नेपालसँग सहमति गर्ने बाटो नै नभएको बताइसकेका छन् । बालुवाटारबाट आफ्नो निवास भक्तपुरस्थित बालकोट सरेकै दिन उनले भने, ‘लाजशरम पचेका माधवहरुको कमीकमजोरी स्वीकार्ने ठाउँ नै छैन ।’ त्यसयता एमालेमा पुनः विवाद चुलिएको छ ।