Logo
Logo

कोराना संक्रमणको जोखिम कायमै


दृष्टि संवाददाता

315
Shares


काठमाडौं । मुलुकभर गत वैशाख(जेठमा अत्याधिक रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण विस्तारै कमजोर हुँदा जनजीवन सामान्यतर्फ उन्मुख भएको छ । कतिपय जिल्लाले निषेधाज्ञा हटाइसकेका छन् भने आदेश लागू गरेका जिल्लामा पनि खुकुलो ९लुज डाउन० गरिएको छ । काठमाडौँ उपत्यकामा असारदेखि खुकुलो बनाइएको निषेधाज्ञा साउनदेखि भने विशेष कामका लागि उपत्यका भित्रिने सवारी साधनलाई पास नचाहिने व्यवस्था गरेर थप सहजीकरण गरिएको छ ।

जनजीवन सामान्यतर्फ उन्मुख भइरहँदा पछिल्ला तथ्याङ्कले कोभिड–१९ को जोखिम भने कायमै रहेको देखाएको छ । शुरुमा एक्कासिमाथि उठेर तल झरेको सङ्क्रमणको ग्राफ पुन उकालो लाग्न थालेकाले वर्तमान परिस्थितिमा नागरिकले पनि सावधानी अपनाउनुपर्ने र राज्यले पनि भिडभाड हुने क्षेत्रमा बढी निगरानी गर्नुपर्ने जनस्वास्थ्यविद् डा रविन्द्र पाण्डेको भनाइ छ । विगतमा मुलुकका खोटाङ र मनाङबाहेक ७५ जिल्लाका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर कोभिड न्यूनीकरण तथा नियन्त्रणमा सक्रिय भएको थियो ।

गृहमन्त्रालयबाट प्राप्त विवरणअनुसार आजसम्म घटेर कूल ५८ जिल्लामा मात्रै निषेधाज्ञाको आदेश कायम छ । बाँकी १७ जिल्लाले निषेधाज्ञा हटाइसकेका छन् । क्रमशः निषेधाज्ञा हटाउने क्रम जारी छ । यद्यपि पछिल्लो समयमा भने सङ्क्रमणदर मन्द गतिमा बढेकाले जोखिम कायमै रहेको स्वास्थ्यविज्ञहरुको भनाइ छ । निषेधाज्ञा लागू भएका जिल्लाले समेत अति भिडभाड हुने गतिविधिबाहेकका क्रियाकलाप खुला गर्दै लगेका छन् । गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले कोभिड नियन्त्रणमा आएर निषेधाज्ञा खुकुलो बनाएको नभइ, जनजीवन सामान्य बनाउनका लागि सावधानी अपनाएर खुकुलो बनाएकाले सावधानी जरुरी रहेको बताउनुभयो ।

समग्रमा आम मानिस सहभागी भएर गरिने सभासम्मेलन र चलचित्र हललगायत गतिविधि बाहेकका क्रियाकलाप खुला गर्न थालिएको छ । अन्तरजिल्ला बाहेकका यातायात पनि सञ्चालन हुन थालेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनजीवनमा परेको असर कम गर्न विस्तारै सहजीकरण गर्दै लगिएको जानकारी दिनुभयो । विगतमा खोटाङ र मनाङ जिल्लाले स्वअनुशासनलाई जोड दिए झैँ निषेधाज्ञा हटाइएका र हटाउने तयारीमा रहेका जिल्लामा पनि स्वअनुशासन कायम गर्नुपर्नेमा प्रशासनिक अधिकारीको जोड छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्