Logo
Logo

आ-आफ्नै दाउमा ओली र नेपाल


दृष्टि संवाददाता

3.3k
Shares

काठमाडौं । एमाले आन्तरिक विवाद कायमै रहेका बेला स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक तय भएको छ । एमाले केपी ओली समूहले आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

केन्द्रीय कमिटीको अजेन्डा तय गर्न आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको हो । स्थायी कमिटीको शुक्रबार बसेको बैठकले विवाद निरूपणसम्बन्धी कार्यदलले प्रस्ताव गरेका सहमतिका बुँदालाई अनुमोदन गर्नुका साथै कार्यदल खारेज गरेको छ ।

सो बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय पनि गरेको छ । ओली पक्षले फेरि आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटीको बैठक राखेर नेपाल पक्षलाई अप्ठेरोमा पार्न खोजेको छ। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूले सबै बैठक रोकेर ओली र नेपालबीच संवाद गराउन चाहिरहेका छन् । तर ओली र नेपाल दुवै संवाद नगरी अघि बढ्ने मुडमा देखिएका छन् । ‘हामीले दुवै नेताहरूबीच संवाद गरेपछि मात्र पार्टीको बैठक राख्न अनुरोध गरेका थियौं तर अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटीको बैठक बोलाउनुभयो ।

फेरि आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ । संसदीय दल र स्थायी कमिटीको बैठकबाट देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गराउनुभयो । यी गतिविधि हेर्दा अध्यक्ष ओलीले नेता नेपालको साथ नचाहेको देखियो’, कार्यदलमा रहेका एक सदस्यले भने ।

नेता नेपालले कार्यदलका सदस्यहरूले १० बुँदे सहमतिमा हस्ताक्षर गरेपछि पाँच दलीय गठबन्धनमा नरहने घोषणा गरेकै बेला ओलीले एमालेमा नेपालको कुनै पनि स्थान नभएको अभिव्यक्ति दिए । त्यसले सप्रिन लागेको वातावरण बिग्रियो । त्यसपछि नेता नेपालले आफूनिकट केन्द्रीय सदस्य विजय पौडेललाई गठबन्धनको बैठकमा पठाएर गठबन्धनमा कायमै रहेको सन्देश दिएका छन् ।

‘ओलीले निरन्तर बैठक राखेर नेपाललाई पेलेर अघि बढ्न चाहेका छन्। नेपालले पनि ओलीलाई देखाउन पाँच दलीय गठबन्धनमा रहेको सन्देश दिएका छन्’, कार्यदलमा रहेका ती सदस्यले भने । ती सदस्यका अनुसार दुवै नेताहरूले आफूहरू आ–आफ्नो अडानबाट टसमस नभएको सन्देश दिइरहेका छन् । तर पनि कार्यदलमा रहेका १० सदस्यसहित पृथ्वी सुब्बा गुरुङ र योगेश भट्टराईले सहमति कायम गराउन शनिबार लामो छलफल गरे । उनीहरूले ओली र नेपाललाई अलगअलग भेटी पार्टी एकता कायम राख्न आग्रह गर्ने भएका छन् । त्यसैअनुसार कार्यदल सदस्यहरूले शनिबार साँझ ओलीलाई भेटिसकेका छन् भने आइतबार बिहान नेपाललाई भेट्दैछन् ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्