काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष सरकारमा जाने निश्चित भएपछि महन्थ ठाकुर पक्षलाई साथ दिएका ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा पुगेका छन् । यादव पक्षले शनिबार बोलाएको संसदीय दलको बैठकमा ठाकुर पक्षका चार सांसदको उपस्थिति थियो भने एक सांसदले बैठकमा उपस्थित नभए पनि यादवलाई साथ दिने आश्वासन दिएका छन् ।
यादव पक्षका नेता मृगेन्द्रसिंह यादवका अनुसार ठाकुर पक्षका प्रमोद साह, अमृता अग्रहरी, रानीमण्डल र नरमाया ढकाल बैठकमै उपस्थिति भए । रुही नाथले आफू काठमाडौंबाहिर भएकाले बैठकमा आउन नसकेको जानकारी गराएकी थिइन् । ‘उहाँ (रुही नाथ) हाम्रो पक्षमा आइसक्नुभएको छ । आज (शनिबार) सर्लाहीमा भएकाले बैठकमा आउन नसक्नुभएको हो,’ नेता मृगेन्द्रसिंहले भने, ‘उहाँले यो कुरा हाम्रो अध्यक्षज्यूलाई जानकारी गराउनुभएको छ।’
ठाकुर पक्षका सांसद प्रमोद साहले आफूलगायत ६ सांसद कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेको प्रस्ट पारे । उनले थप एक सांसद दुलारीदेवी खतवेले पनि कित्ता परिवर्तन गरेको दाबी गरे । ‘हामी ६ जना सांसद अब महन्थ ठाकुर पक्षमा छैनौं,’ साहले भने, ‘पार्टी बचाउन उपेन्द्र यादव पक्षमा पुगेका छौं।’
केपी ओली नेतृत्व सरकारमा मन्त्री नभएपछि साह महन्थ ठाकुरसँग असन्तुष्ट छन् । कित्ता परिवर्तन गरेकाहरू ओली सरकारमा मन्त्री नभएकाहरू मात्रै छन् । ओली सरकारमा मन्त्री भएकाहरूले भने कित्ता परिवर्तन गरेका छैनन् । कित्ता परिवर्तन गरेकाहरू शुक्रबार महन्थ ठाकुरले बोलाएको जसपाको संसदीय दलको बैठकमा सहभागी भएका थिएनन् ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।