काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभा बैठकअघि एमालेले स्थायी कमिटी बैठक बोलाएको हो । दोस्रो पटक पुनर्स्थापना भएको प्रतिनिधि सभाको बैठक पनि आज अपराह्न ४ बजे बस्दैछ ।
पार्टीभित्र देखिएको समस्याको विषयमा छलफललाई निरन्तरता दिन बैठक बोलाइएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट च्युत हुनुका साथै संसद पुनर्स्थापना भैसकेपछि यो पहिलो बैठक हो ।
यसअघि शुक्रबार पनि एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बसेको थियो । स्थायी कमिटीले एमालेको भूमिका प्रतिपक्षका रुपमा हुने र सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । स्थायी कमिटी र दलको दुवै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने सहभागी भएका थिएनन् ।
एमालेले सोमबारका लागि केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । केन्द्रीय कमिटी बैठक पनि तुल्सीलाल स्मृति प्रतिष्ठानमै बस्नेछ ।