काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने निर्णय पार्टी विभाजन गर्ने दुराशय भएको ठहर गरेको छ । आइतबार ललितपुरस्थित च्यासलमा बसेको बैठकले यस्तो ठहर गरेको हो ।
बैठकपछि पार्टीको निर्णयबारे जानकारी गराउँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘एमालेलाई विभाजन गराउने प्रयासस्वरुप आज विश्वासको मत लिने निर्णय गरेको देखिन्छ ।’ उनले माधव नेपाल पक्षलाई विश्वासको मतको विपक्षमा उभ्याउन असफल भएको पनि बताए । उनले देउवाको पक्षमा विश्वासको मत दिने सांसदलाई पार्टीमा नराख्ने निष्कर्ष निकालिएको समेत सुनाए ।
‘माधव नेपालले अरु कसैले विश्वासको मतको पक्ष मत नदिएपनि आफू एक्लैले भएपनि पक्षमा मत दिने अडान लिनुभयो’ उनले भने, ‘सिँगो एमालेले विपक्षमा मतदान गर्ने परिस्थिति बनेन ’ प्रवक्ता ज्ञवालीले अब माधव नेपाल एमालेमा रहने समेत बताए । उनले भने, ‘उहाँले नयाँ कोर्समा अगाडि बढ्ने एक खालको निर्णय गरिसक्नुभएको रहेछ । त्यसैले वहाँ अब एमालेमा रहनुहुन्न ।’